२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘गिभअप’ दिन्छु भनेकी भण्डारीलाई तेस्रो अन्नपूर्ण म्याराथनमा महिलातर्फको उपाधि

अन्नपूर्ण म्याराथन २०८० मा सहभागी धावक संगीता थापा (फरिना) र विजयी धावकहरू । तस्वीर हरि भट्टराई

हरि भट्टराई/पोखरा भ्यूज
घान्द्रुक । ‘ए गफाडी बैनी गणना, हाम्रो जुम्लाको भन्दा यहाँको बाटो अप्ठ्यारो रहेछ । म त बीच बाटोमै गिभअप दिन्छु भनेको मान्छे, तर तिमी फस्ट भयौ । म अति नै खुशी छु । तिमीलाई धेरैधेरै बधाई छ !’ यी शब्द तेस्रो अन्नपूर्ण म्याराथन–२०८० मा महिलातर्फको स्पर्धामा सहभागी स्याङ्जाकी संगीता थापा (फरिना) ले अन्नपूर्ण आधारशिविर (४१३० मिटर) देखि घान्द्रुक (१९४० मिटर) सम्म ४२.१९५ कि.मी. को म्याराथनमा प्रथम भएकी जुम्लाकी गणना भण्डारीलाई बधाई दिने क्रममा भनेकी हुन् ।

म्याराथनमा पहिलोपटक भाग लिएकी थापाले १२ घण्टा १२ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन् । तर सोही दुरी जुम्लाकी गणना भण्डारीले ५ घण्टा ४३ मिनेट ३ सेकेन्डमा पार गरी तेस्रो अन्नपूर्ण म्याराथनमा महिलातर्फको उपाधि चुमेकी थिइन् । म्याराथनमा दोस्रो भएकी धादिङकी रसिला तामाङले ६ घण्टा ५ मिेनट २ सेकेन्ड र ओखलढुङ्गाकी छोकी शेर्पाले ६ घण्टा १० मिनेट १६ सेकेन्डमा उक्त दुरी पार गरी क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्पका विजयी धावकहरूलाई सम्मान गर्दै स्थानीय महिला । तस्वीरः हरि भट्टराई

यी तीनै जना विजयी धावक म्याराथनको अन्तिम विन्दु मेश्रम वराह माविको खेल मैदानमा सँगै स्पर्धामा रहेकी थापाको व्यग्र प्रतिक्षामा थिए । नर्सिङ पेशामा रहेकी थापाले म्याराथनको निर्धारित दुरी पार गरेकामा विजयी धावकले उनलाई बधाई दिए । ८ जना धावक सहभागी रहेको महिलातर्फको म्याराथनमा २ जनाले बीचैमा छाडेका थिए । थापाले छैठौं स्थान हासिल गरेकी थिइन् ।

‘म दुई घण्टाअघि नै निर्धारित दुरी पार गर्न सक्थें । तर सँगै रहेका कोरियन साथीले हामी उपाधिका लागि धेरै पछि परिसक्यौं । तर सँगसँगै जाउ र निर्धारित दुरी पुरा गरौं भने । उनको कुरा ठीकै लाग्यो र उनलाई धकेल्दै धकेल्दै आएँ । तर कोम्रोङडाँडा आएपछि उनले गिभअप दिए । मलाई उनीबाट धोका भयो’ साथीहरूलाई दौडको बेलिविस्तार सुनाउँदै थापाले भनिन् ।

उनीहरू म्याराथनमा सहभागी हुन पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगसँगै गएका थिए । मोग्रेस गर्ने क्रममा भण्डारीले जुम्लाको भन्दा अन्नपूर्ण रुट अप्ठ्यारो भएकाले आफूले बीच बाटोमै ‘गिभअप’ बताएकी थिइन् । तर उनै भण्डारीले उपाधि चुमेपछि प्रतिस्पर्धी धावकहरू अचम्मित भए ।

आर्मीमा भर्ती हुने धावक भण्डारीको इच्छा

तेस्रो अन्नपूर्ण म्याराथनमा महिलातर्फ प्रथम भएकी भण्डारीले नेपाली सेनामा भर्ती भएर म्याराथनका प्रतिपर्धामा सेनाका तर्फबाट कुद्ने चाहना रहेको बताएकी छन् । ‘केही समयअघि सेनामा भर्ति देखाउँदा ‘प्रारम्भिक चरण’ मा फालिएँ । तर पनि नेपाली सेनाप्रतिको मेरो मोह घटेको छैन,’ पोखरा भ्यूजसँग कुराकानी गर्दै उनले भनिन्,‘जुम्लामा दरखास्त दिएको थिएँ ।

अन्नपूर्ण म्याराथन २०८० को उपाधि जितेपछि घान्द्रुकस्थित होटल रक एण्ड मडमा विश्राम गर्दै धावक गणना भण्डारी । तस्वीर हरि भट्टराई

तर यता म्याराथनमा भाग लिंदा त्यताको प्रक्रियामा सहभागी हुन सकिन ।’ पहिलोपटक पटक सेनामा भर्ती देखाउँदा देब्रे खुट्टा भाँच्चिएको रहेछ भनेर फालिएको उनको गुनासो छ ।

‘मेरो खुट्टा भाँच्चिएकै होइन । तर स्वास्थ्य परीक्षणका क्रममा भाँच्चिएको भनेर फालिएँ । यदि मेरो खुट्टा भाँच्चिएको भए म्याराथनमा कसरी कुद्न सक्थें ? उनले प्रश्न गरिन् ।’ उनी यसभन्दा अघि जुम्लादेखि रारातालसम्मको अल्ट्रा म्याराथनमा दोस्रो भएकी थिइन् ।

उनले जुम्लाको मौसम र अन्नपूर्ण आधारशिविरको मौसम उस्तैउस्तै पाएको बताइन् । ‘हाम्रो जुम्लामा पनि हिउँ पर्छ, यहाँ पनि हिउँ पर्दो रहेछ,। मलाई त उता (जुम्ला) र यता (अन्नपूर्ण बेसक्याम्प) उस्ताउस्तै लाग्यो । तर बाटो भने फरक रहेछ,’ उनले भनिन्, ‘जुम्लादेखि रारातालसम्मको बाटोमा यहाँको जस्तो ढुङ्गा र अप्ठ्यारो छैन । ढुङ्गाको छपनीले नछापेको बाटोमा गोलो च्याप्टेखालका ढुङ्गाले यहाँको बाटोमा खुट्टा भने डर लाग्यो, उनले भनिन् ।

१२ कक्षासम्मको अध्ययन पूरा गरेकी भण्डारी मामा धीरबहादुर बूढाको सल्लाह बमोजिम अन्नपूर्ण म्याराथनमा भाग लिन आएकी थिइन् । भण्डारीले हालसम्म म्याराथनसम्बन्धी पूर्ण तालिम लिएकी छैनन् । तर मामाको सल्लाहमा हरि रोकायासँग भर्खर भर्खर तालिम लिन आरम्भ गरेकी छन् । तर संयोग कस्तो भने दुवै मामाभाञ्जी तेस्रो अन्नपूर्ण म्याराथनमा प्रथम भए ।

जुम्लादेखि रारासम्मको म्याराथनमा पनि उनीहरू दुवै दोस्रो भएका थिए । उनका मामा धीरबहादुर बूढाले ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पार गरी पुरुषतर्फको अन्नपूर्ण म्याराथनमा प्रथम भए । पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट १९ सेकेन्ड र वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा सो दुरी पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

विजयी धावकहरु सामूहिक फोट खिचाउँदै

पुरुषतर्फ ३८ धावक सहभागी भएकोमा ६ जनाले बीचमै प्रतिस्पर्धाबाट हात झिकेको थिए । यसरी बीचमै दौड छोड्नेमा नेपाल आर्मीका हरिकुमार रिमाल पनि छन् । रिमाल पहिलो अन्नपूर्ण म्याराथनकाका च्याम्पियन हुन् । उनी दोस्रो संस्करणको अन्नपूर्ण म्याराथनमा दोस्रो भएका थिए ।

म्याराथनका विजयी धावकहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद पुरस्कार र पदक वितरण गरे । पुरुषतर्फका विजयी धावकले क्रमशः एक लाख पचास हजार, एक लाख र ७५ हजार नगद र महिलातर्फ विजयी धावकले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाएका छन् ।

अन्नपूर्ण म्याराथनका विजयी धावकलाई पुरस्कार वितरणपछि सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्वीरः हरि भट्टराई

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्ला हिमाल आरोहणमा नयाँ कीर्तिमानी राखेको दिनलाई अन्नपूर्ण दिवसको रुपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले वि.स. २०७४ सालदेखि अन्नपूर्ण म्याराथन सहितको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव गर्दै आएको समितिका अध्यक्ष ललित गुरुङले बताए । उनका अनुसार समितिले अन्नपूर्ण आधारशिविरमा हर्गोजको अर्धकदको शालिक समेत निर्माण गरेको छ ।

धावक शेर्पा र सासंद खतिवडाको टेलिफोन सम्वाद

तेस्रो अन्नपूर्ण म्याराथनमा महिलातर्फ तेस्रो भएकी ओखलढुङ्गाकी छोकी शेर्पा र सासंद रामहरि खतिवडाबीच टेलिफोन वार्ता भएको छ । म्याराथन जितेर घान्द्रुकको रक एण्ड मड होटलमा विश्राम गर्न पुगेकी शेर्पालाई पोखराका गोपाल गुरुङले सासंद खतिवडासँग टेलिफोन सम्वाद गराई दिएका हुन् ।

शुरूमा गुरुङले शेर्पालाई बधाई दिएर उनीसँग परिचय गरे । शेर्पाले आफू ओखलढुङ्गाबाट अन्नपूर्ण म्याराथनमा भाग लिन आएको बताएपछि गुरुङले तुरुन्तै सासंद खतिवडालाई फोन गरी गृहजिल्लाका प्रतिभालाई प्रोत्साहन गर्न अनुरोध गर्दै शेर्पासँग कुराकानी गराएका थिए । शेर्पासँगको कुराकानीमा सासंद खतिवडाले काठमाडौं आए लगत्तै आफूलाई भेट्न भनेका छन् । उनले शेर्पालाई म्याराथनमा अघि बढ्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…