
पोखरा भ्यूज
पोखरा, ६ साउन । लमजुङको सुन्दरबजार नगरपालिका भोटेबजारस्थित भक्ति नमूना माध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीहरुको पुनर्मिलन भएको छ । २०५०/५१ को एसएलसी ब्याच समुहले ३० वर्षमा पहिलोपटक पुनर्मिलन कार्यक्रमको आयोजना गरेको सो बिधालयका पूर्व बिधार्थी हरिराज पन्तले जानकारी दिए ।
पोखरा–१८, सराङकोटस्थित नयाँ गाउँ रिसोर्टमा सम्पन्न पुनर्मिलन कार्यक्रममा ३० जना पुर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो । भेलामा लमजुङ, चितवन, काठमाडौं र पोखरामा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न सो ब्याचका पुर्व विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
भेलाले भक्ति नमुना माध्यमिक विद्यालय र त्यस आसपासको क्षेत्रमा सामाजिक, शैक्षिक, आर्थिकक्षेत्रमा सक्दो रचनात्मक सहयोग गर्ने योजना बनाई पूर्णरूपमा समाजसेवामा लाग्ने प्रतिवद्वता व्यक्त गरेको छ।
पूर्व बिधार्थी पन्तका अनुसार एसएलसीपछि भविष्य खोज्ने क्रममा अध्ययन, पेशा र व्यवसायका लागि कोही बिदेशिए, कोही देशकै विभिन्न क्षेत्रमा क्रियाशील भए । फेसबुकको ग्रुप च्याटमा छलफल चलेपछि आफूहरुले अध्ययन गरेको विद्यालय र आसपासका क्षेत्रका लागि केहि गरौं भन्ने उद्देश्यका साथ कार्यक्रम बन्यो । सोहीकार्यक्रम अन्तर्गत सबैलाई सहज हुने किसिमले सुक्रवार र शनिवार गरी दुईदिने भेला पोखरामा आयोजना गरिएको पन्तको भनाई छ ।
कार्यक्रममा विगतका विद्यार्थी जिवनको समीक्षा गर्दै अनुभव साँटासाँट गर्नुका साथै आआफ्नो पेशा व्यवसाय र क्षेत्रबाट योगदान दिने विषयमा गम्भीर छलफल भएको छ ।
३० वर्षपछिको भेटको वातावरण साँच्चै रमाइलो बनेको सहभागीले बताएका छन् । छुट्टै खुशी, छुट्टै उमंगको माहोल थियो, म फलाना, म फलाना भन्दै परिचय दिँदै भन्दै थिए– मलाई चिन्यौ ? अनि के गर्दैछौं ? कता बस्छौं? बालबच्चा कति भए ? यस्तै–यस्तै बग्रेल्ती प्रश्नले आफ्ना सफलताका कथाहरू निर्धक्क सुनाइरहेकै थिए । सानामा पढ़ेको अतितलाई सम्झँदै कतिखेर खुशी साट्न पाए हुन्थ्यो जस्तै भएको आज बल्ल साइत जुर्रयो अधिकांशको भनाई रहेको थियो ।
कार्यक्रममा आफ्नो अनुभूति राख्दै भक्ति नमूना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानकृष्ण आचार्यले विद्यालयको भौतिक पुर्वाधार पर्याप्त र सुविधासम्पन्न भएतापनि शैक्षिक गुणस्तर कायम गर्न विविध चुनौती रहेको बताएका थिए ।
सहभागी हरिराज पन्तले यस खालको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको जोड़ दिएका थिए । सहभागी पुर्व विद्यार्थीहरू भिमनाथ गौली, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, भारती सदन प्राविका प्रधानाध्यापक ज्ञानबहादुर कार्की, शिक्षक मन्जु खनाल, अधिवक्ता हरि बुढाथोकी लगायतले भक्ति नमूनामावि र आसपासका क्षेत्रमा शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा समुहले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
भेलाले एक अक्षयकोष निर्माण गर्ने र समाजका आगामी गतिविधि अगाडि बढाउन मानकृष्ण आचार्य, सनदकुमार श्रेष्ठ, हरिराज पन्त, रिता अधिकारी न्यौपाने, हरि बुढाथोकी रहेको एक समिति गठन गरेको छ ।











