
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूणर् गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।
साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनुहुनेछ । प्रशिक्षणमा गण्डकी प्रदेशका एक निर्वाचन क्षेत्रबाट १ र एक जिल्लाबाट १ गते ४७ जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य केशव आचार्यले जानकारी दिनुभयो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएको सुनाउनुभयो ।
‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो । समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ’ उहाँले भन्नुभयो, ‘हाम्रो ३ दिनको बसाईले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’
सोेही क्रममा ज्ञवालीले कांग्रेस, माओवादी र राप्रपाको टिप्पणी गर्नुभयो । उहाँले नमुनावादी कांग्रेस, राजा फर्काउने विचार भएको राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन नसक्ने जिकीर गर्नुभयो । ‘कांग्रेसले बोकेको नमुनावादी विचारले समृद्ध नेपाल निर्माण गर्दैन । राप्रपाको राजा फर्काउने बासी विचारले समाजको नेतृत्व गर्दैन । सत्ताको निम्ति जोकर जस्तो कसले एउटासँग, कहिले अर्कोसँग मिलेर सरकार बनाउने राजनीतिलाई घीनलाग्दो खेल बनाउने प्रचण्डको अवसरवादले अबको चुनौती पूरा गर्न सक्दैन,’ उहाँले भन्नुभयोे । नयाँ आएका पार्टीमा पनि देशलाई समृद्धितर्फ लैजाने कुनै योजना नभएको दाबी उहाँको छ । ‘अहिले उदायका दलहरुको सामार्थ भनेको ढुंगा जहाँ लाग्यो, त्यहिँ मैले ताकेको थिए भन्ने हो । यीबाट पनि सम्भव छैन । यो अभिभारा पूरा गर्ने एमालेले मात्रै हो ।’
अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको र सत्ताका लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने बताउनुभयो ।
देश निर्माण गर्न र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोक्न एमालेले मात्रै सक्ने उपमहासचिव ज्ञवालीको दाबी थियो । ‘हाम्रो आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप हुन थालेको छ । यी सबै कुरा रोक्नका लागि एउटा बलियो शक्तिको खाँचोे छ । त्यो बलियो शक्ति भनेको नेकपा एमालेमात्रै हो । एमालेको नेतृत्वमा मात्रै देश निर्माण हुन सक्छ,’ उहाँले भन्नुभयो











