
पोखरा भ्यूज
१४ श्रावण,काठमाडौं । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त आदेश दिएको हो। उक्त आदेशमा छलफलका लागि सरकारी पक्षलाई समेत बोलाइएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०८१ को बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने नीति सार्वजनिक गरेपछि नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गत साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो।
पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट व्यवसाय मैत्री नभएको, पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने, हचुवाका भरमा भ्याट लागू गर्दा नेपालका ट्राभल कम्पनी र यात्रुलाई समस्या हुने भन्दै विरोध गर्दै आएका छन् ।











