33Shares

पोखरा भ्यूज

४ साउन, काठमाडौं । सरकारले देशभरि पशुहरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको हो । यस्तो कार्ययोजना बनाउँदा तीन तहको सरकारको समन्वयमा निजी क्षेत्रलाई समेतसँग समन्वय गर्ने निर्णय भएको स्रोतले बतायो ।

कृषि, पशुपंक्षी विकास मन्त्रालयका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि केन्द्रीय अनुगमन समितिले गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्ने भएको छ ।लम्पीको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरु मर्ने क्रम रोकिएको छैन ।

लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ ।

गाईभैंसीमा लाग्ने लामखुट्टे, किर्ना, झिंगा लगायतको टोकाइबाट र पशु उपचार गर्ने क्रममा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् । लम्पी स्किन रोगबाट सङ्क्रमित गाईभैंसीको दूध घट्ने, छालामा साह्रा गाँठागुठी देखिने, नाक र मुखमा घाउ आउने, उच्च ज्वरो आउने तथा आँखा र नाकबाट तरल पदार्थ बगिरहने गर्दछ । समयमै उपचार नपाए पशुहरूको मृत्यु हुन्छ ।लम्पी स्किन पशुबाट मान्छेमा सरेको पुष्टि अहिलेसम्म भएको छैन ।

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected