
पोखरा भ्यूज
पोखरा, १० भदौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवस पोखरामा मनाईएको छ । नेपाल महिला संघ कास्कीको आयोजनामा आइतवार एक कार्यक्रमको आयोजना गरी २७ वटा मैनबत्ती बाली उनको तस्विरमा माल्यापर्ण गर्दै श्रद्धान्जलि अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं संबिधान सभा सदस्य शारदा पौडेलले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मंगलादेवीको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गरेकी थिईन ।
नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेको अध्यक्षतामा सम्पन्न क़ार्यक्रममा उपाध्यक्ष ईन्द्रमाया बानिया, सचिब राम कुमारी पौडेल, कोषाध्यक्ष कमला गिरी, क्षेत्र नं ३ का सभापति जुना क्षेत्री, पोखरा महानगर सभापति अम्बिका ढुंगानालगाएतले नेपाल महिला संघमा स्व. मंगलादेवी सिंहले महिलाहरुको हकहितकालागि जहानियाँ राणा शासकहरु विरुद्ध आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको स्मरण गर्दै स्वर्गिय सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार प्रकट गरेका थिए ।
मंगलादेवी सिंह कांग्रेसका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिंहकी श्रीमती हुन् ।
को हुन् मंगलादेवी सिंह ?
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको थियो।वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.सं. १९९६ मा प्रजापरिषद काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन्।
वि.सं. २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उनी आजन्म अध्यक्ष रहेकी थिइन्। २००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै सिंह महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन्। वि.सं.२००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गरिन्।
सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो ।२०२५ सालपछि ८ वर्ष प्रवासमा रहेकी सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भएकी थिइन्।
२०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन्। उनीद्वारा लिखित ‘नारी संघर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तक एउटा जिवन्त इतिहास हो। २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको निधन वि.सं.२०५३ साल भदौ १० गते भएको थियो। नेपाली राजनीतिमा उनको योगदान अतुलनिय रहेको छ।












