
पोखरा भ्यूज
२५ पुस, काठमाडौं । बलात्कार मुद्दामा कसूर ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवना तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
अदालतले परिवर्तित नाम गौशाला २६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिवापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ लाई भराइदिने ठहर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।
यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा कसर ठहर गरी पुस २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको थियो ।सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।











