
पोखरा / नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गा प्रसाद गौतम निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न १३औं साधारणसभा एवं छैटौ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्ष दामोदर पाठक, कृष्णराज श्रेष्ठ निर्वाचित भएका छन्। महासचिवमा शिव खनाल, सचिवमा तेजेन्द्र पौडेल, कोषाध्यक्षमा मदन राज न्यौपाने र सह–कोषाध्यक्षमा सुजन कुमार श्रेष्ठ निर्वाचित भए ।
सदस्यमा दिलीपकुमार श्रेष्ठ, अच्युत ढकाल, रमेश अधिकारी, टंकप्रसाद श्रेष्ठ, श्याम पौडेल, खगेन्द्र बिमली, भरत खड़का, मनोज श्रेष्ठ, राजन कुमार श्रेष्ठ, तिर्थराज पौडेल, पशुपति शाह, नरेश न्यौपाने, राजकुमार जोशी, राजीव श्रेष्ठ, लाल कार्की, शिवराम पौडेल, कुलप्रसाद अधिकारी र मनोज रौनीयार निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष हरिराज पन्त पदेन सदस्य रहनेछन् भने बरिष्ठ सल्लाहकारमा गोबिन्द प्रसाद कर्मचार्य, विशेष सल्लाहकारमा सुरेश अधिकारी, सल्लाहकारमा टंक खनाल र बिजय श्रेष्ठ रहेको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बताए ।
यस अघि नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
भट्टले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि रविकास सम्भव रहेको बताउदै निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गरेका थिए ।
उनले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले व्यापार, ढुवानी तथा वितरणमा सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिए।
अध्यक्षको मन्तव्य राख्दै वितरक महासंघका अध्यक्ष हरिराज पन्तले स्वदेशमै उत्पादन भएका एवं बाह्यबजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरुको अभिभावकीय संस्थाका रुपमा रहेको संस्थाले आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राखी सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ़ेको बताए ।
नेपालमा उत्पादित तथा विदेशबाट आयातित वस्तुहरुको विक्री वितरण गर्न एकै प्रकृतिका व्यवसायीहरू एकीकृत भई २०६६ सालमा स्थापना भएको महासंघ ४५ जिल्लामा फैलिसकेको र ६ हजार बढी व्यवसायी आवद्ध रहेको पन्तले जानकारी गराएका थिए ।
अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उधोग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, लेखनाथ उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्य, वितरक महासंघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, रिलाएवल एग्रो लिमिटेडका प्रतिनिधि सुरेन्द्र थापा, बजार बिक्री व्यापार संघका अध्यक्ष गोपाल सापकोटा महासंघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद खनाललगाएतले मन्तव्य राखेका थिए ।





