0Shares

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न हुँदा अध्यक्ष पदमा मात्रै चार जना व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्।

भदौ २० र २१ गते हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुँदैछ। अध्यक्ष पदका लागि उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्। चारमध्ये गौतम र आचार्यले प्यानलसहित चुनावी तयारी अघि बढाएका छन् भने पोखरेल र बुद्धाचार्य स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्।

अध्यक्षका चार आकांक्षीमध्ये बुद्धाचार्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। बलराम आचार्य वर्तमान कार्यसमितिमा वाणिज्यतर्फका उपाध्यक्षको जिम्मेवारीमा छन्। त्यस्तै, शोभा गौतम महासचिव हुन्। अर्जुन पोखरेल भने संघका पूर्वमहासचिव हुन् र यसअघि दुईपटक अध्यक्ष पदमा प्रतिस्पर्धा गरिसकेका छन्।

उम्मेदवारी दर्ताको क्रममा पनि चारै पक्षले आफ्नो शक्ति प्रदर्शन गरेका थिए। बुद्धाचार्य समर्थक व्यवसायीसहित संघको सचिवालय पुगेका थिए। गौतम र आचार्यले आफ्ना प्यानलका उम्मेदवार तथा समर्थकसहित मनोनयन दर्ता गराए। यसले यसपटकको निर्वाचनलाई नेतृत्व चयनसँगै समूहगत शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ।

गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम सुवेदी, उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा, वाणिज्यतर्फको उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन्।

त्यसैगरी बलराम आचार्य नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योगतर्फको उपाध्यक्षमा ललितबहादुर कुँवर, वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्सन प्रजुले उम्मेदवारी दिएका छन्।

यद्यपि सबै पदमा प्यानलबीच मात्र प्रतिस्पर्धा भने छैन। उपमहासचिव पदमा कुनै पनि प्यानलमा नपरेका रामचन्द्र तिमिल्सिनाले पनि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष दामु अधिकारीका अनुसार सदस्य पदमा पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ।

कार्यसमिति सदस्यका लागि १४ जनाले मनोनयनपत्र लिए पनि १३ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दिनेमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी छन्।

यसैबीच वस्तुगत र औद्योगिकतर्फ भने चुनावी प्रतिस्पर्धा नहुने भएको छ। वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा औद्योगिक सदस्यमा पिताम्बर अधिकारीको मात्र उम्मेदवारी परेको छ। निर्वाचित हुनुपर्ने संख्याअनुसार नै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध हुने अवस्था बनेको निर्वाचन समितिले जनाएको छ। यद्यपि दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक घोषणा हुनेछ।

सोमबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। अब मंगलबार दिउँसो १ बजेसम्म दाबी–विरोधको समय रहेको निर्वाचन समितिका संयोजक अधिकारीले जानकारी दिए। भदौ ११ गते बिहीबार अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। सो समय सकिएपछि सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

चार अध्यक्षका आकांक्षी, दुई प्रमुख प्यानल र स्वतन्त्र उम्मेदवारसहितको चुनावी समीकरणले यसपटक पोखरा उद्योग वाणिज्य संघको निर्वाचनलाई थप रोचक बनाएको छ। अबको केही दिनमा उम्मेदवारी फिर्ता र दाबी–विरोधको प्रक्रिया पूरा भएपछि वास्तविक प्रतिस्पर्धाको तस्वीर अझ स्पष्ट हुने देखिन्छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected