
पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पनि स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
ISO 9001:2015 तथा ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीनतम डिजिटल बैंकिङ सेवासमेत उपलब्ध गराउँदै ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।













