0Shares

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय कार्यालयको आज नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले समुद्घाटन गरेका छन्।

काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको नयाँ भवनबाट बैंकले आफ्नो केन्द्रीयस्तरीय प्रशासनिक तथा व्यवस्थापकीय कामकाज सञ्चालनमा ल्याएको हो। यसअघि लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालयलाई बालुवाटारमा स्थानान्तरण गरिएको हो।

वालिङबाट सुरु भएको गरिमा विकास बैंकको यात्राले काठमाडौंको वित्तीय तथा व्यावसायिक केन्द्रमा नयाँ मुकाम तय गर्नुलाई बैंकको संस्थागत विस्तारसँगै आर्थिक क्षमताको विकास र आगामी व्यावसायिक रणनीतिको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। नयाँ केन्द्रीय कार्यालयले बैंकको प्रशासनिक संरचनालाई थप व्यवस्थित बनाउनुका साथै व्यवसाय विस्तार, स्रोत परिचालन, लगानी व्यवस्थापन र ग्राहक सेवामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

बैंकले पछिल्लो समय आफ्नो वित्तीय पहुँच विस्तार गर्दै निक्षेप संकलन, कर्जा प्रवाह तथा आधुनिक बैंकिङ सेवामार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। बालुवाटारजस्तो काठमाडौंको महत्वपूर्ण व्यावसायिक क्षेत्रमा केन्द्रीय कार्यालय स्थापना हुनुले बैंकको संस्थागत पहिचानलाई थप सुदृढ बनाउने तथा वित्तीय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने देखिन्छ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले नयाँ केन्द्रीय कार्यालयबाट बैंकको सेवा, व्यवस्थापन र व्यवसाय सञ्चालनलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको बताएका छन्। उनका अनुसार बदलिँदो वित्तीय बजार, प्रविधिको तीव्र विकास र ग्राहकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै बैंकलाई थप प्रतिस्पर्धी र सबल वित्तीय संस्थाका रूपमा अघि बढाउने लक्ष्य रहेको छ।

प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद आचार्यका अनुसार वालिङबाट सुरु भएको बैंकको संस्थागत यात्रा अहिले राजधानीको प्रमुख व्यावसायिक क्षेत्रमा आइपुगेको छ। नयाँ कार्यालयले व्यवस्थापकीय समन्वय, निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई थप चुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। वालिङबाट सुरु भएको गरिमाको यात्रा केवल भौगोलिक स्थानान्तरणमा सीमित छैन; यो सानो क्षेत्रीय पहलबाट विकसित हुँदै राष्ट्रिय वित्तीय बजारमा आफ्नो प्रभाव विस्तार गर्ने आर्थिक यात्राको प्रतीकसमेत बनेको आचार्यको भनाई छ।  बैंकले आगामी दिनमा पूँजी परिचालन, व्यवसाय विस्तार, प्रविधिमैत्री सेवा र प्रतिस्पर्धात्मक वित्तीय उपस्थितिलाई थप बलियो बनाउने आचार्यले बताए ।

नयाँ केन्द्रीय कार्यालय स्थानान्तरणको अवसरमा बैंक परिसरमा बाजागाजा तथा भजन–कीर्तनसहित विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected