
पोखरा । पोखरास्थित भारतीय पेन्सन क्याम्पले गण्डकी प्रदेशका विभिन्न सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार पेन्सन वितरण कार्यालय पोखरामा आयोजित एक कार्यक्रमका बीच कार्यलय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन्।

पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरत भूषण पाण्डेका अनुसार म्याग्दे गाउँपालिकास्थित मनपाङ हेल्थपोष्ट, आँबुखैरेनी अस्पताल, गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नम्बर ६, पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल र म्याग्दीको बेनी अस्पताललाई एम्बुलेन्स वितरण गरिएको हो ।
एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै कार्यालय प्रमुख बगेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । ‘नेपाल र भारत बिचको सम्बन्ध छिमेक मात्र होइन, पारिवारिक छ,’ उनले भने, ‘एम्बुलेन्स हस्तान्तरण दुई देशबिचको असल मित्रताको प्रतीक पनि हो ।‘
एम्बुलेन्स जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा एम्बुलेन्स दिइएको बताउदै बगेलले ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको बताए ।
स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बगेलले सुनाए ।











