२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे । समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे ।

समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिए । उनले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो ।
जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो ।

कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको प्रचारप्रसार संयोजक लोकराज ढकालले जानकारी दिए ।

कोटीहोमको हवन पूर्णाहूतिमा २१ करोड दीप प्रज्ज्वलन गरिएको थियो । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।

हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी शुरु भएको थियो ।

कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थिए ।

प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरेका थिए ।

कोटीहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ सम्म सञ्चालन भएको थियो । यसअघि कोटीहोम जेठ २६ गते समापन हुने भनिए पनि भक्तजनको चापका कारण समयावधि थप भई ३१ गतेसम्म सञ्चालन भएको थियो ।

कोटीहोम समापनसँगै भागवत मञ्जरी राधिका दासीको भव्य बिदाई गरिएको छ । दासीले जेठ १७ देखि समापनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन् । दासीको बिदाईमा कोटीहोममा सहभागी सबै भावविह्वल भएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…