२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम  नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् ।

होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने गरी हवाई सेवा संचालन गरिनुपर्ने विषय कार्यक्रममा चर्चा गरिएको थियो ।

संघले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत यसपटक पाल्पा, वुटवल, नेपालगंज, सुर्खेत र दाङ (घोराही) मा अन्तरक्रिया र पत्रकार सम्मेलनहरु आयोजना गरिएका थिए । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरासँग सिधा हवाई सेवा संचालन गर्ने विषय आफूले सम्वन्धित ठाउँमा राख्ने प्रतिवद्धता जनाए ।
आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) पहिलो आबश्यकता भएको भन्दै स्तरीय वस सेवा र हवाई सेवा मार्फत् सातै प्रदेश जोड्ने संघको उद्देश्य रहेको बताए ।

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएको र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिइएको पनि उनले स्पष्ट पारे । पोखरा आउने पर्यटक मध्ये दुई देखि तीन प्रतिशत नेपाली हुने गरेकोमा अभियान संचालन पछि हाल त्यस्तो आँकडा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए ।

दाङको घोराहीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सिमा नाकामा भारतीय पर्यटकलाई चेकजाँच बढी भयो भन्ने गुनासो आउने गरेको स्मरण गराउँदै यसलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने भनाई राखे ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन गरिएको हो । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सहयोगी हुने विश्वास गरिएको छ । पोखराको होटल क्षेत्रमा पाँच खर्ब भन्दा बढी हाराहारीको लगानी रहेको, एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र करिव २० हजार जनाले रोजगारी पाएको संघका अध्यक्ष सुवेदीले कार्यक्रममा जानकारी दिएका थिए ।
सुर्खेतमा आयोजि कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमवहादुर शाही, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोविन्द खत्री र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले भनाई राखेका थिए । यसैगरी घोराहीमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डीसी, पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकारहरु सविन प्रियासन र विपुल पोखरेल, होटल व्यवसायी महासंघ दाङका अध्यक्ष इश्वरकुमार बुढामगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं हान दाङका अध्यक्ष नरेश श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…