
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले तेस्रो तीज सांस्कृतिक महोत्सव गर्ने भएको छ । भाद्र १० र ११ गते पोखराको वाराहीघाट, लेकसाइडमा आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)का अध्यक्ष शोभा पाण्डेले बताइन् ।

महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी दौड, घैटो फुटाउने, महोत्सव रङ र सिर्जनात्मकताको संगम मेहेन्दी जोन, साथै प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटिने महिला सशक्तिकरण टक शो लगायतका सिर्जनशील कार्यक्रम रहने संस्थाका निवर्तमान अध्यक्ष कमला गिरीले जानकारी दिईन् ।
तीज गीत प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय पुरस्कार क्रमश: ३५, हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दशवटा समुहलाई सान्तवना पुरस्कार स्वरुप रु. ४/४ हजार प्रदान गरिनेछ ।अन्य प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार राशी प्रदान गरिने टेवानका महासचिव शोभा अधिकारी पौडेलले बताइन्।
उनले महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान उजागर गर्ने अनुपम अवसरका रूपमा लिने उल्लेख गरिन्। महोत्सवमा यसपटक १० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ। 
टेवानका सचिव एव महोत्सव मूल आयोजक समितिका संयोजक शान्ता सुवेदी तिमिल्सिनाले तीज महोत्सवले महिलाको क्षमता अभिवृद्धि, सामाजिक सहभागिता तथा सशक्तीकरणमा ठोस योगदान दिने विश्वास व्यक्त गरिन्। उनले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महोत्सव महत्वपूर्ण कडी बन्ने धारणा राखिन्।
यस वर्ष महिलाले खुला चौरमै तीज गीत गाउने परम्परा पुनर्जीवित गर्ने विशेष प्रयास हुनेछ । महोत्सवले गण्डकी प्रदेशका ११ वटै जिल्लालाई समेट्ने र सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने संयोजक तिमिल्सिनाले उल्लेख गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का वड़ा अध्यक्ष विष्णुबहादुर भट्टराईले टेवानका कार्यक्रममा सहकार्य गर्ने बताए । उनले चौथो संस्करणको तीज महोत्सवमा आगामी आर्थिक बर्षको महानगरको बजेटमा बजेट छुट्टाउने प्रतिवद्वता जनाए । 
कार्यक्रमममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन परिषदका प्रमुख मणि लामिछाने, टेवानका सल्लाहाकार तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई लगायतले बोलका थिए ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को सहयोगमा महोत्सव सम्पन्न हुने टेवानले जनाएको छ।











