8Shares

लेखानाथ कास्की , २० असार । लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवं १५औं महाधिवेशन कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रकाश ढकालले जे चिजको संभावना छ, सोही चिजको खोजी गरी आर्थिक उर्पाजन तर्फ व्यवसायी लाग्नुपर्नेमा जोड दिएका छन् । उनले निजी क्षेत्रकै लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने उल्लेख गर्दै निराश नहुन आग्रह गरेका थिए । “निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव छ,” भन्दै ढकालले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए । साथै सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान बनाउनुपर्ने धारणा राख्दै केन्द्रिय तहबाट लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने बताए । उनले विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधान रोजगारी सिर्जनामा रहेको प्रष्ट पार्दै लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको उल्लेख गरेका थिए । पर्यटनको प्रचुर सम्भावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा पनि उनको जोड थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै सम्भावना भएको क्षेत्र भएकाले आर्थिक तथा रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयातलाई विस्थापित गर्ने कार्ययोजना अनुसार अघि बढ्नुपर्ने सुझाव दिएकी छन्। उद्योग र चाडपर्वलाई ध्यानमा राखी शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गर्दै नेतृत्व वर्गले साना व्यवसायीको हितमा काम गर्नुपर्नेमा जोड दिएकी छन् । साथै लेखनाथ क्षेत्रको पर्यटकीय सम्भावनालाई समुचित विकास गर्नुपर्नेमा पनि उनको जोड थियो।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको भौतिक संरचना र सामाजिक रुपान्तरणमा निभाएको भूमिकाको स्मरण गर्दै २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पिठाधिस एवं पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिएको जानकारी दिए । उक्त पुरस्कारको राशि रू. १ लाख १ हजार रहेको छ।

यस्तै, कृष्ण प्रसाद ढुङ्गाना वातावरण पुरस्कार यस वर्ष ढुक्क टोली लेखनाथलाई प्रदान गरिएको छ भने सुर्यमणि लामिछाने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १५ हजार ८८ रहेको छ। त्यस्तै महिला उद्यमी सम्मान यस वर्ष रुपकला श्रेष्ठलाई प्रदान गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा–३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, कास्की जिल्ला समन्वय समिति अध्यक्ष लिलाधर बराल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटट्चन, सिन्धुली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अम्रेशकुमार बैदार, नेकपा माओवादीका जिल्ला संयोजक विश्व प्रकाश लामिछाने, सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाकोनाककी अध्यक्ष गंगा कुमारी खनाललगायतले संघका सदस्यलाई उत्पादनमुखी बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन् ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected