
काठमाडौं । नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानको परिधिभित्र रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाउन र संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई आग्रह गरेको छ।
जेनजी आन्दोलनपछिको जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा तथा सार्वजनिक–निजी सम्पत्तिको तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख गरिएको छ।
यस्तो अवस्थामा सबै नागरिकलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुनुपर्नेमा जोड दिइएको छ। नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैंले लिने घोषणा गरेपछिको नयाँ परिस्थितिलाई उचित ढंगले व्यवस्थापन गर्नु अपरिहार्य रहेको विज्ञप्तिमा भनिएको छ।
संक्रमणकाल लम्बिँदा मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सचेत रहन सबै पक्षलाई सचेत गराउँदै लम्सालले लोकतान्त्रिक प्रक्रियामार्फत संवादद्वारा तत्काल निकास निकाल्न आग्रह गर्नुभएको छ।
“लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ। युनियनले संवेदनशील परिस्थितिमा नागरिकको सत्य र तथ्यपूर्ण सूचना पाउने अधिकार सुनिश्चित गर्न पत्रकारलाई अफवाहबाट सचेत रहन आग्रह गरेको छ। साथै सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अपिल गरेको छ।











