
पोखरा । जलिरहेको घर, उडिरहेको बाक्लो धुवाँ, र भित्रै जिउँदै आगोले जलिरहेकी परिवारकै सदस्य बहिनीको हृदयविदारक चीत्कार। त्यो क्षण धुर्व बहादुर थापाका लागि केवल एउटा घर गुमाउनु मात्र थिएन-३५ वर्षको मेहनत, पसिना र सपनासँगै जीवनकै उत्साह खरानी बनेको क्षण थियो।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्ब बहादुर थापा र उनकी धर्मपत्नी मिलन थापा—जो हाल लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन तथा डिष्ट्रिक्ट ३२५ जे नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर हुनुहुन्छ। उहाँहरु दुवै जना विगत लामो समयदेखि उद्यमशीलता र सामाजिक सेवामा समर्पित रहनु भएको छ ।
१७ वर्षको उमेरमा पढाइसँगै व्यवसाय सुरु गरेका धुर्व थापाले आफ्नो यात्रालाई केवल व्यक्तिगत उपलब्धिमा सीमित राखेनन्। “नेपालमै उद्यम गर्नुपर्छ, यहाँ सम्भावना धेरै छ,” भन्ने उनको भनाइले असंख्य युवालाई प्रेरणा दियो। तर, थापा दम्पतिको पहिचान केवल सफल उद्यमीमा मात्र सीमित छैन। २०७२ सालको भूकम्प होस् वा कोभिड–१९ को महामारी, उनीहरूले समाजलाई प्राथमिकतामा राखे। दर्जनौँ एम्बुलेन्स आयात गरी विभिन्न संघ–संस्थालाई निःशुल्क उपलब्ध गराए, जसले आजसम्म देशका कुनाकाप्चामा सेवा पुर्याइरहेका छन्। “हामीले सधैं व्यापारभन्दा मानवीय सेवालाई अगाडि राख्यौं,” थापा भन्छन्।
तर हालै २४ गते Gen-z को प्रदर्शनका क्रममा सबैलाई स्तब्ध बनाउँदै आगोले उनको घर र कार्यालयलाई खाक बनाइदियो। पुर्खाको जग्गामा बनेको, ३५ वर्षको संघर्ष जोडिएको घर केही क्षणमै खरानी हुँदा थापा भाबुक बने। “घर जलेर खण्डहर भएको देख्दा नेपालमै बसेर व्यवसाय गर्नु गल्ती भएछ कि भन्ने लाग्छ,” उनले सामाजिक संजालमा भावुक हुदै लेखेका छन् ।
तर सम्पत्ति गुमाउनु भन्दा बढी पीडादायी थियो—घरमै काम गर्दै आएकी र परिवारकै सदस्य भएकी बहिनीको ज्यान गुमाउनु। “केही क्षण अघि मात्र हामीलाई खाना खुवाएकी ती बहिनी क्षणमै बर्बरतापूर्वक आगोमा जलेर गुम्छिन् भन्ने कल्पना पनि गर्न सकेको थिइनँ। ”
आगोको घटनासँगै दाजु बिन्दु थापामाथि सामाजिक सञ्जालमार्फत लगाइएका आरोपबारे पनि धुर्व ले लेखेका छन् । “दाजु राजनीतिमा लाग्नु अघि नै सफल व्यवसायी हुनुहुन्थ्यो। उहाँमाथि लगाइएका भ्रष्ट्राचारका आरोपहरू कपोलकल्पित मात्र हुन्। आम जनताले उहाँको स्वच्छ छवि राम्ररी बुझ्छन्,” उनले प्रष्ट पारे। उनले थपे, “हाम्रो परिवार पुर्खादेखि नै जनताको पैसा हिनामिना गर्ने स्थितिमा छैन। बरु दाजुले सांसद र मन्त्री हुँदा पाएको सम्पूर्ण तलब–भत्ता समाजमै खर्च गर्नुभयो।”
यस्तो कठिन घडीमा साथ, सहानुभूति र उत्प्रेरणा दिने सबैप्रति थापाले आभार व्यक्त गरेका छन्। “तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझै बलियो भएर अघि बढ्ने हिम्मत दिएको छ,” उनले कृतज्ञ हुँदै भने।











