
पोखरा, भदौ २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते Gen-Z युवाहरूले आयोजना गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन्।
मुख्यमन्त्री पाण्डेले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको मानवीय क्षति र त्यसपछिको सार्वजनिक सम्पत्ति र ऐतिहासिक संरचनामा भएको अकल्पनीय क्षतिलाई गहिरो दुःखद भन्दै घोर निन्दा गरेका छन्। “संघीय संसद भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन, प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यालय, निजी सम्पत्ति र सरकारी संरचनामा भएको क्षति अत्यन्त दुःखद छ,” – विज्ञप्तिमा उल्लेख गरिएको छ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूमाथि भएको आक्रमणप्रति पनि पाण्डेले गहिरो खेद व्यक्त गरेका छन्। उनले यस्तो अमानवीय व्यवहार लोकतान्त्रिक आन्दोलनको मर्म विपरीत रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री पाण्डेले भदौ २३ को आन्दोलनमा भएको बल प्रयोग र त्यसपछिका योजनाबद्ध तोडफोड तथा आगजनी घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले शान्तिपूर्ण आन्दोलनको नाममा हिंसा र विध्वंस मच्चाउने प्रवृत्ति अस्वीकार्य भएको बताउँदै यस्तो कार्यको कठोर निन्दा गरेका छन्।
मुख्यमन्त्री पाण्डेले अहिलेको जटिल परिस्थितिबाट पार पाउन संयमता, संवाद र एकताको बाटोमा हिँड्नुपर्ने बताएका छन्। उनले राष्ट्रपतिद्वारा अघि सारिएको संवाद पहललाई गण्डकी प्रदेश सरकारले स्वागत गर्ने भन्दै सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रलाई सहकार्य गर्न आग्रह गरेका छन्। “संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नु आजको आवश्यकता हो,” – उनले बताएका छन्।
पाण्डेले पछिल्लो घटनाक्रमले सम्पूर्ण राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनाएको भन्दै अबको आवश्यकता भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी शासन रहेको बताएका छन्। उनले नेपाली समाजको विशेषता सामाजिक एकता र सद्भाव रहेको उल्लेख गर्दै, त्यही आधारमा नयाँ बाटो पहिल्याउनुपर्ने बताएका छन्।
मुख्यमन्त्री पाण्डेले अन्त्यमा प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिएर शान्ति, स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।











