सार्वजनिक लुटपाट र त्रास फैलाउनेलाई आन्दोलन भन्न मिल्दैन : कांग्रेस नेता कोइराला
- September 13, 2025
- 1557

“न दाजुको, न भाइको, कांग्रेसजनको कांग्रेस हो”
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै देशमा देखिएको जनआक्रोश, सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र व्यक्तित्वमाथिको आक्रमणलाई “आन्दोलन” वा “समाज परिवर्तन” भन्न नमिल्ने चेतावनी दिएका छन्।
शनिबार एक कार्यक्रममार्फत बोल्दै उनले नयाँ सरकार गठनको पृष्ठभूमिमा देखिएको ‘जेनजी आन्दोलन’मा उठेका केही मागहरू वैधानिक भए तापनि त्यसकै नाममा गरिएको हिंसा र उग्र गतिविधिले सभ्य समाजको मूल्य मान्यता नै तहसनहस बनाएको बताए।
“भदौ २४ मा जे देखियो, त्यो २१औं शताब्दीको सभ्य समाजमा आन्दोलन होइन, आतंक थियो,”कोइरालाले भने।
कोइरालाले पार्टीलाई केही गुट विशेषको कब्जाबाट मुक्त गरी “न दाजुको, न भाइको, कांग्रेसजनको कांग्रेस” बनाउने समय आएको बताए।उनका अनुसार जनताको भरोसा गुमाउँदा कांग्रेसजस्ता पुराना दलहरू सत्ताबाट बाहिरिन बाध्य भए।
“समाज परिवर्तनको तिव्र चाहना छ, युवाहरू आफ्नै देशमा सुन्दर भविष्य खोज्दैछन् – कांग्रेस त्यसको माध्यम बन्नुपर्छ,” उनले जोड दिए।
देउवामाथि भएको हमला जघन्य अपराध
डा. कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र घरमा गरिएको लुटपाटप्रति आक्रोश व्यक्त गरे। उनले यो कार्यलाई “जघन्य अपराध” को संज्ञा दिँदै यसको कडा निन्दा गरे।
“जसले लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका छन्, त्यस्ता नेतामाथि भएको हमला कुनै पनि हालतमा स्वीकार्य छैन,” कोइरालाको भनाइ थियो।
कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदम चाल्ने तयारीमा आफू लागेको उनले बताए। दशैंपछि अभियान सुरु हुने बताउँदै उनले पार्टीभित्र आम सदस्य, युवापुस्ता र जनभावनालाई समेट्ने अभियान प्रारम्भ गर्ने उद्घोष गरे।
“हिजो हामी चुक्यौं, अब प्रायश्चित गर्छौं। तर भोलिको लागि कांग्रेसले फेरि एकपटक नेतृत्व लिनुपर्छ,”कोइरालाले स्पष्ट पारे।
डा. शेखर कोइरालाको यो सम्बोधन कांग्रेसभित्रको आत्मसमिक्षा र सुधारको प्रयासको रुपमा हेरिएको छ। पछिल्लो राजनीतिक उथलपुथलपछि कांग्रेस कहाँ गल्तीमा गयो, अब के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट र ठोस सन्देश दिने कोशिस कोइरालाले गरेका छन्।




























