12Shares

काठमाडौँ । नेपाली काँग्रेसले शान्ति, संविधान र लोकतन्त्रका पक्षमा पार्टी अडिग रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको मर्म र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ ।

शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटनलाई संविधानसम्मत नभएको ठहर गर्दै यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकालेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा सातै प्रदेश सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी थिए ।

जेन जेड युवाको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिमा संवादमार्फत समाधान खोज्नुपर्ने भन्दै काँग्रेसले राष्ट्रपतिलाई पहल गर्न आग्रह गरेको छ । पार्टीले अन्तरिम सरकारको नेतृत्व जेन जेडले प्रस्ताव गरेको व्यक्तिलाई नै दिनुपर्ने धारणा पनि बैठकमार्फत सार्वजनिक गरेको छ ।

बैठकले आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । साथै सिंहदरबारसहित जलेका संरचनाको मूल्यांकन गरी अविलम्ब पुनर्निर्माण योजना बनाउनुपर्नेमा जोड दिएको छ ।

काँग्रेसले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताहरू जोगाउन सबै दल, नागरिक समाजसँग सहकार्य गर्दै अग्रगमन र शान्तिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने घोषणा गरेको छ ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected