
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गर्दै त्यसका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गर्दै १० लाख रुपैयाँ सहयोगसहित नौ बुँदे निर्णय गरेको हो।
बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै आन्दोलनमा भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।
बैठकले जेनजी पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउने जस्ता मुद्दाप्रति कांग्रेसको प्रतिबद्धता स्पष्ट पार्दै भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गरी शीघ्र पुनर्निर्माण योजना ल्याउन सरकारलाई आग्रह गरेको छ।
संसदीय दलले पुनर्निर्माण कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ योगदान गर्ने घोषणा गर्दै सभापति शेरबहादुर देउवासहित नेताहरूमाथि भएको आक्रमणको भत्र्सना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै दल, नागरिक समाज र युवापुस्तालाई लोकतान्त्रिक मूल्य मान्यताअनुसार अघि बढ्न अपिल गरेको बैठकका निर्णयबारे जानकारी दिँदै दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।












