
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले पार्टीको केन्द्रीय विशेष महाधिवेशन माग गरेका छन् । मंगलबार पोखरामा बसेको बैठकले तत्काल महाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन आग्रह गरेको हो ।
बैठकमा सहभागी सभापतिहरूमा कास्की १ का राजेन्द्रमणी लामिछाने, कास्की २ का केशर निर्दोषी, तनहुँ १ का श्यामकुमार मौरती, तनहुँ २ का चुडामणी खनाल र बागलुङ २ का जोकलाल बुढालेमहाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन आग्रह गरेका हुन् ।
१८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा ५ वटा जिल्लामा क्षेत्रीय समिति नै छैन । बाँकी १३ सभापतिमध्ये अधिकांश कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुन नसकेको लामिछानेले बताए ।
तर कास्की–३ का सभापति मनोज गुरुङ भने उपस्थित भएनन् । उनले विशेष महाधिवेशनको आवश्यकता नभएको भन्दै नियमित अधिवेशनमै अघि बढ्नुपर्ने धारणा राखे । ‘देश अप्ठ्यारोमा परेको बेला पार्टी एकताबद्ध हुनुपर्छ, जात्रा देखाउने काम उचित हुँदैन,’ गुरुङले टिप्पणी गरे ।
यसअघि कास्की जिल्ला समितिले पनि विशेष महाधिवेशन माग गर्ने निर्णय गरेको भनिए पनि केहीले त्यो औपचारिक निर्णय नभई हल्ला मात्रै भएको आरोप लगाएका छन् ।
केही सभापतिहरूले भने पार्टी केन्द्रीय सभापति स्वास्थ्य उपचारको क्रममा रहेको बेला महाधिवेशनको कुरा उठाउनु उचित नहुने बताएका छन् ।











