
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिले पार्टीका मूल मूल्य—राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता—बारे तत्काल ठोस निर्णय लिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले आवश्यक निर्णय पार्टी पदाधिकारी बैठक, केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमिति, महासमिति, विशेष महाधिवेशन वा १५औँ महाधिवेशनमार्फत गर्ने प्रस्ताव अघि सारेको छ । नेताहरूले मुलुक गम्भीर राजनीतिक संकटमा फसेको भन्दै कांग्रेसले ढिलाइ नगरी निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्नेमा जोड दिए ।
बैठकले भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा धनजनमा पुगेको क्षतिको विषयमा गण्डकी कांग्रेसले जारी गरेका विज्ञप्तिलाई अनुमोदन गर्दै सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना र घाइतेहरूको स्वास्थ्यलाभको कामना प्रकट गर्यो । साथै, क्षतिबारे न्यायिक छानबिन गर्नुपर्ने माग पनि राखियो ।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेतामाथि भएको आक्रमणको भर्त्सना गर्दै स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिएको छ । बैठकले जेनजी आन्दोलनका माग आत्मसात गर्दै पार्टीभित्र सहमति र आपसी सद्भाव खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा अन्तरिम सरकार गठन, संसद विघटन, निर्वाचन मिति घोषणा र संविधान संशोधनबारे पनि गम्भीर छलफल भएको प्रवक्ता माधव बास्तोला मधुले जानकारी दिए ।











