
पोखरा। असोज १७ देखि २० गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन निर्देशन दिएको छ। बिहीबार गृहमन्त्रीको उपस्थितिमा भएको भर्चुअल बैठकमा सबै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सम्बन्धित निकायलाई पूर्ण तयारी अवस्थामा रहन भनिएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने देखिएको छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतका निकाय उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएका छन्।
गण्डकी प्रदेशमा असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै कास्की प्रशासनले संवेदनशील सडकखण्डमा सवारी सञ्चालनमा विशेष तालिका लागू गरेको छ। बिरेठाँटी–घान्द्रुक, बिरेठाँटी–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–सिक्लेस मार्गमा तोकिएको समयमै मात्र सवारी सञ्चालन गर्न अनुमति दिइने र भारी वर्षा भएमा पूर्णरूपमा रोक लगाइने जनाएको छ।
यस्तै, सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग, मुग्लिन–पोखरा तथा वेगनास–भोर्लेटार सडकखण्डमा तत्काल परिचालन हुने गरी डोजर, एक्साभेटरलगायत हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न आदेश दिइएको छ। स्थानीय प्रशासनले यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन, सावधानीपूर्वक सवारी सञ्चालन गर्न र जोखिम बढेमा तत्काल रोक लगाउन निर्देशन दिएको छ।
बाढी, पहिरो र डुबानको जोखिम भएका नदी किनार र भीरालु क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना भएकाले पदयात्रीलाई तत्काल ननिस्कन सन्देश दिइएको छ। प्राधिकरणले असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सर्वसाधारणलाई अपील गरेको छ।




























