71Shares

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रापालक कृषकहरू खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन्। बाख्रापालकको क्षमता र उत्पादन वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले “वालिङ कृषि विकास परियोजना” मार्फत खोर निर्माणमा अनुदानको व्यवस्था गरेको हो।

परियोजनाअन्तर्गत साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्यसहित कृषकहरूले अनुदानमा आधुनिक खोर निर्माण गरेका छन्। परियोजनाका अनुसार खोर निर्माणमा कृषकले कुल लागतको ५० प्रतिशत अर्थात् रु. ३० हजार नगद अनुदान पाएका छन्।

नगरपालिकाका वडा नं. १ देखि ७ सम्मका किसानहरूले यो कार्यक्रमअन्तर्गत खोर निर्माण गरेका छन्। वडा नं. ६ की कृषक सीता कामीले अनुदान पाएपछि आफूहरू निकै उत्साहित भएको बताइन्। उनका अनुसार आधुनिक र व्यवस्थित खोर बनेपछि बाख्रापालनप्रति स्थानीयको आकर्षण झन् बढेको छ।

वालिङ नगरपालिका पशुसेवा शाखाका प्रमुख डा. रोशन बस्यालका अनुसार हालसम्म ९० वटा आधुनिक खोर निर्माण भइसकेका छन्। “सुविधासम्पन्न खोरमा बाख्रा पालेपछि रोगको संक्रमण घट्छ, उत्पादन र उत्पादकत्व दुवैमा वृद्धि हुन्छ,” उनले बताए।

नगर प्रमुख कृष्ण खाँणका अनुसार निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिकतामा रूपान्तरण गर्ने नगरपालिकाको योजनाअनुसार यो परियोजना अघि बढाइएको हो। हाल यस परियोजनामार्फत झण्डै एक हजार घरपरिवार बाख्रापालनमा संलग्न छन्।

वडा नं. ५ का अध्यक्ष छवी आलेका अनुसार पहिलो चरणका खोर देखेपछि अन्य किसान पनि आधुनिक खोर निर्माणतर्फ आकर्षित भएका छन्। “पहिले खास चासो नदेखाउने किसान अहिले आफैं खोर बनाउन उत्साहित छन्,” उनले भने। उनका अनुसार बाख्रापालनमा महिलाको सहभागिता उल्लेखनीय छ।

परियोजना वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, स्थानीय संस्था दियालोको व्यवस्थापनमा सञ्चालित छ। तीन वर्ष अवधिका लागि सञ्चालन हुने यो परियोजनामा ५२ कृषक समूहका झण्डै १४ सय घरपरिवार आबद्ध छन्। महिला बहुल समूहमार्फत किसानहरू बाख्रा, गाईभैंसी, कुखुरा पालन र तरकारी खेतीमा संलग्न छन्।

नगरपालिकाले परियोजनामा आबद्ध कृषकलाई उत्पादनमा आधारित थप अनुदान दिने तयारीसमेत गरेको जनाएको छ।

71Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected