
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ । हालको केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थप्न खोजेको आशंकाबीच असन्तुष्ट नेताहरूले त्यसविरुद्ध खुलेर विरोध जनाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् – “अब म्याद होइन, नयाँ नेतृत्व चाहिन्छ।”
नेता गुरुराज घिमिरे, देवराज चालिसेलगाएतका नेताहरूले जारी केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रूपमा लम्ब्याइएको र यसले म्याद थप्ने मनसाय देखाएको आरोप लगाए । असोज २८ बाट सुरु भएको बैठकलाई बिना कारण कात्तिक १३ सम्म स्थगित गरिएको भन्दै उनीहरूले भने, “यो विलम्ब आकस्मिक होइन, योजनाबद्ध हो।”
उनका अनुसार, कांग्रेसको विधानले स्पष्ट रूपमा विशेष महाधिवेशन माग गर्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूलाई दिएको छ । त्यसैअनुसार, असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको मागपत्र बुझाइएको छ, जुन कुल प्रतिनिधिको ५३ प्रतिशतभन्दा बढी हो ।
तर पनि, पार्टी नेतृत्वले उक्त मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै नेताहरूले आपत्ति जनाए । नेता घिमिरेले भने, “जुन पार्टीले देशमा लोकतन्त्रको बीज रोप्यो, त्यही पार्टी भित्रै आज लोकतान्त्रिक अभ्यास कुहिन थालेको देखिन्छ।”
उनीहरूका अनुसार, अहिलेको केन्द्रीय कार्यसमिति नैतिकरूपमा असफल भइसकेको छ र म्याद थपेर नेतृत्व गर्ने नैतिक आधार गुमाइसकेको छ । “अब यस कार्यसमितिले देश र पार्टीलाई दिशानिर्देश दिन सक्दैन, नयाँ जनादेश आवश्यक छ,” देवराज चालिसेले भने ।
नेताहरूले फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन अघि नै पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार, निर्वाचनको समयमा पार्टीभित्र ताजगी र नवीनता आवश्यक हुन्छ, जुन अहिलेको कार्यसमितिबाट सम्भव छैन ।
ध्यानाकर्षण पत्रमार्फत असन्तुष्ट नेताहरूले पाँच वटा ठोस बुँदामा पार्टी नेतृत्वलाई सचेत गराएका छन् । ती बुँदामा विशेष महाधिवेशन मागको वैधानिकता, म्याद नथप्ने प्रतिबद्धता, समयमै नयाँ नेतृत्व चयन, पार्टी इतिहासको निरन्तरता र राष्ट्रिय राजनीतिमा पार्टीको जिम्मेवारी समेटिएका छन् ।
पत्रमा भनिएको छ, “राष्ट्रिय राजनीति अत्यन्त तीब्र गतिमा अगाडि बढिरहेको बेला कांग्रेसले अलमल र ढिलाइ गर्ने छुट छैन । जारी बैठकलाई लम्ब्याएर म्याद थप्ने खेल आपत्तिजनक छ।”
नेताहरूले जारी केन्द्रीय कार्यसमितिका केही सदस्यहरूले विधान विपरीत अभिव्यक्ति दिएको आरोप पनि लगाएका छन् । उनीहरूको भनाइमा, यस्ता गतिविधिले पार्टीको मूल मर्म र अनुशासनमा धक्का पुर्याएको छ ।
“हामीले यो कदम पार्टी फुटाउन होइन, बचाउन चालेका हौं,” घिमिरेले जोड दिए, “विशेष महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने वैधानिक अभ्यास हो, त्यसलाई कसैले रोक्न सक्दैन।”
उनले थपे, “कांग्रेसलाई अहिले म्याद थप्ने होइन, आत्मपरिवर्तन गर्ने समय हो। जनताले नेतृत्व परिवर्तन र विश्वास पुनःस्थापनाको संकेत दिइसकेका छन्।”
पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले पार्टी नेतृत्वलाई वैधानिक बाटोमा फर्कन र विशेष महाधिवेशनको तयारी तत्काल सुरु गर्न आग्रह गरेका छन् । उनीहरूले भने, “पार्टीको गौरव र संगठनको जीवन रक्षा गर्न विशेष महाधिवेशन अब अनिवार्य बनिसकेको छ।”




























