
अन्नपूर्ण, कास्की — अन्नपूर्ण गाउँपालिकाको समन्वयमा, Good Neighbors International Nepal को आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपाल को आयोजनामा तीनदिने WASH FIT (Water, Sanitation and Hygiene Facility Improvement Tool) तालिम सम्पन्न भएको छ। तालिम २०८२ साल कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको थियो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले तालिमको उदघाटन सत्रमा बोल्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि यस किसिमका तालिमहरू अत्यन्त उपयोगी हुने बताएका थिए । उनका अनुसार सरसफाइ, स्वच्छता र फोहोर व्यवस्थापनमा सुधार ल्याउन यस तालिमले दीर्घकालीन योगदान पुर्याउनेछ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चिरंजीवी बराल, जनप्रतिनिधि, स्वास्थ्य शाखा संयोजक तथा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थितिमा तालिमको प्रभावकारिता र उपयोगिताबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले तालिमबाट स्वास्थ्य संस्थाभित्रको सरसफाइ सुधार र सुरक्षित स्वास्थ्य सेवा प्रवर्द्धनका लागि नयाँ दृष्टिकोण विकास भएको अनुभव साटेका थिए।
तालिममार्फत सहभागीहरूलाई WASH मापदण्ड, स्वच्छता व्यवस्थापनका व्यावहारिक सीप, र मेडिकल फोहोर व्यवस्थापनका प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। आयोजक नौलो घुम्ती नेपाल का अनुसार, तालिमले स्वास्थ्य संस्थाहरूलाई दिगो सरसफाइ र सफा वातावरणमार्फत सेवा गुणस्तर सुधार गर्न प्रेरित गरेको छ।
समापन सत्रमा पालिका उपाध्यक्ष अधिकारी, सामाजिक विकास समिति संयोजक तुलसी प्रसाद अधिकारी, प्रवक्ता भरतमान गुरुंग लगायतका जनप्रतिनिधिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। तालिम WASH FIT सम्बन्धी प्रशिक्षक प्रतिज्ञा श्रेष्ठले सञ्चालन गरेकी थिइन्।











