कांग्रेस बैठकमा निर्वाचनअघि महाधिवेशन गर्न नसकिने धार बलियो, गगन–शेखर पक्ष दबाबमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नसकिने धार बलियो बनेको छ। बिहीबार सानेपामा बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यले मंसिरमै महाधिवेशन सम्भव नभएको भन्दै निर्वाचनपछि मात्र गर्न सुझाव दिएका हुन्। पार्टीको शक्तिशाली निकायको बैठकमा बोल्ने अधिकांश नेताले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताउँदै संस्थापन पक्षको मतलाई बल मिलेको देखिएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्षले पार्टी विधानअनुसार कार्यसमितिको म्याद थपेर निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तयारी गरेको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, “बिहीबारको बैठकमा बोलेका अधिकांश सदस्यले राष्ट्रिय निर्वाचन नजिकिएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने र त्यसपछि नियमित महाधिवेशनमा जानु उपयुक्त हुने धारणा राख्नुभएको छ,” उनी भन्छन्, “केही साथीले मंसिरमै गर्न सकिन्छ भनेका छन्, तर बहुमतले चुनावपछि भन्ने मत राख्नुभएको छ।”
संस्थापन पक्षको तर्क छ— अहिले महाधिवेशनमा गयो भने पार्टी चुनावी तयारीमा कमजोर हुन्छ, त्यसैले विधानले अनुमति दिएको एक वर्षको म्याद थपेर स्थायित्व कायम गर्नुपर्छ।
तर पार्टीका दुवै महामन्त्री, गगनकुमार थापा र विश्वप्रकाश शर्मा, चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। थापाले मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्न सकिने प्रस्ताव बिहीबारको बैठकमा पेस गर्न तयारी गरेका थिए। तर कार्यवाहक सभापति खड्काले अनुमति नदिएपछि थापाले बैठक बहिष्कार गरेर बाहिरिएका थिए।
उनी त्यसपछि नेता डा. शेखर कोइराला पक्षको विशालनगरस्थित छलफलमा सहभागी भए। त्यही छलफलमा गगन–विश्वप्रकाश र शेखर पक्षका नेताहरूले नियमित महाधिवेशनको कार्यतालिकाको खाका तयार पारे।
शुक्रबार बिहान उक्त कार्यतालिकासहित गगन र विश्वप्रकाश कार्यवाहक सभापति खड्कालाई भेट्न पुगेका छन्। उनीहरूले तयार पारिएको कार्यतालिका सर्वसम्मत पारित गराउन दबाब दिएको उपसभापति धनराज गुरुङले जानकारी दिए। “हामीले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाएका छौं,” गुरुङले भने, “आजको बैठकमा त्यो प्रस्तुत गरेर सर्वसम्मत पारित गर्ने हाम्रो लक्ष्य छ।” शेखर कोइराला पक्षले बिहीबार राति र शुक्रबार बिहान उपसभापति गुरुङ, दुवै महामन्त्री, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे लगायतसँग छलफल गरेर गतिरोध अन्त्य गर्ने रणनीति तय गरेको हो।
कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई निवेदन बुझाइसकेका छन्। तर केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बलियो बहुमत रहेकोले महामन्त्री र शेखर समूहले राजनीतिक दबाब र जनमत प्रयोग गरेर कार्यतालिका पारित गराउने प्रयास गरिरहेका छन्। संस्थापन पक्ष भने विधानअनुसार म्याद थपेर चुनावपछि मात्र नियमित महाधिवेशन गर्ने तयारीमा रहेको छ।
बिहीबारको बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रमा कोइराला (पौडेल),विद्यादेवी तिमिल्सिना लगायत १५ जनाले आफ्नो धारणा राखेका थिए। तीमध्ये अधिकांशले “चुनावअघि महाधिवेशन सम्भव छैन” भन्ने मत राखे। यसपछि संस्थापन पक्षको दबाब बढेको र महामन्त्रीद्वयमाथि राजनीतिक–संगठनिक दबाब परेको बताइएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल यस मंसिरमा सकिँदैछ। विधानअनुसार आवश्यक परेमा एक वर्ष म्याद थप्न सकिने व्यवस्था छ। संस्थापन पक्षले यही व्यवस्थामा टेकेर म्याद थप्ने तयारी गरेको छ भने गगन–विश्वप्रकाश र शेखर समूहले नयाँ नेतृत्व चयनका लागि महाधिवेशन टार्न नहुने अडान लिएका छन्।
कांग्रेसभित्रको यो विवाद केवल मितिको प्रश्न होइन, नेतृत्व पुस्ता–परिवर्तन र पार्टीको दिशा तय गर्ने निर्णायक संघर्ष बनेको छ। यदि शुक्रबारको बैठकले कार्यतालिकामा सहमति गर्न सकेन भने दलभित्रको असन्तुष्टि अझ गहिरिने र विशेष महाधिवेशनको माग औपचारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ। तर सहमतिको बाटो फेला पार्न सकियो भने कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचन र पार्टी पुनर्संरचना दुवैमा नयाँ सन्देश दिन सक्ने अपेक्षा गरिएको छ।









