59Shares

टंकराज अधिकारी
डिष्ट्रिक्ट एड्मिनिट्रेटर,
लायन्स अन्तर्राष्ट्रिय  डिष्ट्रिक्ट ३२५ आई नेपाल

नेपालमा लायन्स क्लबहरूको यात्रा पाँच दशकभन्दा लामो सेवाको इतिहास छ । सन् १९६२ मा सहदेव शमशेर राणाको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं स्थापना हुँदै लायनवाद नेपालमा प्रवेश गर्यो । त्यो समय समाजमा संगठित सेवाको संस्कृति अझै भन्नु पर्दा नवप्रवेशी नै थियो ।
पहिलो क्लब स्थापनापछि विभिन्न कठिनाइ र चुनौती आए—अहिलेसम्म स्मरण गरिने सन् १९६२ सालको हवाई दुर्घटनाले त प्रारम्भिक अभियानमै ठूलो आघात पुर्यायो । तर लायन्स सदस्यहरूको आत्मबल, निरन्तरता र दृढ संकल्पका कारण यो यात्रा कहिल्यै रोकिएन ।
सन् १९७१ मा स्व. मातृका प्रसाद कोइरालाको अगुवाइमा लायन्स क्लब अफ विराटनगरको स्थापना भएसँगै नेपालमा लायन्सको नयाँ अध्याय सुरु भयो । त्यसयता, लायन्सका आँखा शिविरदेखि विपद् उद्धार, शिक्षा–स्वास्थ्यदेखि वातावरण संरक्षणसम्मका गतिविधि समाजमा पुग्ने र जनचेतनामा रूपान्तरण हुने पुल मिडियाले बनेको छ । समाचार, फोटो, लेख, अन्तर्वार्ता र डिजिटल प्लेटफर्ममार्फत सञ्चारमाध्यमले लायन्स अभियानलाई पारदर्शी मात्र बनाएन, आत्मसमिक्षा गर्ने अवसर पनि दिलायो ।
नेपालमा लायनिजम केवल सेवाको अभियान मात्र होइन, समाजपरिवर्तनको निरन्तर अभ्यास पनि हो । यस यात्रामा सञ्चारमाध्यमको भूमिका समाचार सम्प्रेषणमा मात्र सीमित रहेन, बरु विचार, भावना र उत्प्रेरणाको संवाहकका रूपमा विस्तार भयो ।
आजको प्रविधियुक्त युगमा सेवा र नेतृत्वलाई अझ प्रभावकारी बनाउन सञ्चारमाध्यम सहयात्रीभन्दा बढी उत्प्रेरक शक्ति बनेको छ । सामाजिक उत्तरदायित्वमा विश्वास गर्ने सञ्चारकर्मी र निस्वार्थ सेवामा समर्पित लायन्स सदस्यहरूको सहकार्यले नेपाली समाजमा स्थायी सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको छ । लायन्स अभियानको आगामी यात्रामा पनि सञ्चारमाध्यम र लायन्सबीचको यो सहयात्रा प्रेरणादायी उर्जा बन्नेमा कुनै शंका छैन ।

यो आलेख यिनै विषयवस्तुमा केन्द्रित छ ।

लायनवादको प्रारम्भिक चरणमा सञ्चारमाध्यमको योगदान
लायन्स अभियान सुरु हुँदा नेपालमा सञ्चार माध्यमहरू सिमित थिए । गोरखापत्र दैनिक र रेडियो नेपाल नै प्रमुख साधन थिए । यिनै माध्यमहरूले लायन्सका गतिविधि, उद्देश्य र अन्तर्राष्ट्रिय सञ्जाललाई जनतासम्म पुर्याए ।
नेपालमा लायनवादको यात्रा साठीको दशकमा सुरु भएको हो । सन् १९६२ मा सहदेव शमशेर राणाको नेतृत्वमा लायन्स क्लब अफ काठमाण्डौ स्थापना हुँदै नेपालमा पहिलो पटक लायनवाद प्रवेश गर्यो । क्लबले प्रारम्भिक रूपमा सामाजिक सेवा, जनचेतना र अन्तर्राष्ट्रिय सञ्जालसँगको सम्पर्कका अवसरहरू सिर्जना गर्ने उद्देश्य राखेको थियो । यद्यपि क्लबको चार्टर हस्तान्तरण हुनुअघि नै २०६२ सालको हवाई दुर्घटनामा क्लबका प्रमुख नेतृत्वकर्ता र अधिकांश सदस्यले ज्यान गुमाउँदा प्रारम्भिक अभियानमा ठूलो धक्का लाग्यो ।
यो दुर्घटना केवल मानवीय क्षति मात्र थिएन, यसले नेपालको लायनवादको प्रारम्भिक आधारलाई पनि अस्थायी रूपमा रोक्यो । चार्टर हस्तान्तरण हुन नपाउँदै रद्ध भएको यस घटनाले संस्थाको सुरुवाती संरचना, योजनागत कार्यक्रमहरू र सदस्यहरूको मनोबलमा गहिरो असर पारेको थियो ।
तथापि, कठिनाइका बाबजुद सन् १९७१ मा पूर्व प्रधानमन्त्री स्व. मातृका प्रसाद कोइरालाको अगुवाइमा लायन्स क्लब अफ विराटनगर स्थापना भएसँगै नेपालमा लायनवादको नयाँ अध्याय सुरु भयो ।
त्यतिन्जेल नेपालमा सञ्चारका साधनहरू अत्यन्त सीमित थिए । मुख्य रूपमा छापामाध्यममा गोरखापत्र र श्रव्य माध्यममा रेडियो नेपाल मात्र उपलब्ध थिए । यिनै सीमित साधनहरूले लायन्स क्लबका उद्देश्य, गतिविधि र अन्तर्राष्ट्रिय संजालको परिचय गराउन महत्वपूर्ण भूमिका खेले ।
 जनचेतना फैलाउने सेतुु
समाचार प्रकाशन र रेडियो कार्यक्रमले लायन्स क्लबको सामाजिक सेवाभाव र उद्देश्यलाई समाजमा परिचित गरायो । पत्रपत्रिकामा प्रकाशित समाचार र सम्पादकीयले पाठकहरूलाई क्लबका गतिविधिबारे जानकारी दियो भने रेडियो वार्तालापले सुनुवाई गर्ने समुदायसम्म पहुँच पुर्यायो । यस्तो प्रकारको निरन्तर जानकारी प्रवाहले लायन्सलाई अपरिचित संगठन मात्र नभई विश्वसनीय सामाजिक संस्था र अन्तर्राष्ट्रिय सञ्जालको हिस्सा भनेर समाजमा परिचित गरायो ।
 सदस्यता अभिवृद्धिमा सहयोग
प्रारम्भिक समयमा लायन्स क्लबमा सदस्यता बढाउनु चुनौतीपूर्ण थियो । सञ्चारमाध्यमले क्लबका गतिविधि, उपलब्धि र सेवाभावलाई जनसमक्ष ल्याउँदा समाजका सक्रिय नागरिक आकर्षित भए । समाचार र सम्पादकीयले लायन्सको महत्व बुझाइदिएर सदस्यतामा अभिवृद्धि गर्ने कार्य गरेको देखिन्छ । यसले क्लबको स्थायित्व र विकासको आधार तयार पार्न मद्दत गर्यो ।
 विश्वसनीयता र सामाजिक मान्यता
सुरुमा अपरिचित र विदेशी संगठनको रूपमा देखिन सक्ने लायन्सलाई सञ्चारमाध्यमले समाजमा सर्व–स्वीकार्य बनाउने कार्य गर्यो । समाचार र रेडियो कार्यक्रमले संगठनको पारदर्शिता र सेवा गतिविधिहरू उजागर गर्दा, जनविश्वास निर्माण भयो । यसले लायन्स क्लबलाई केवल क्लब नभई सामाजिक जिम्मेवारीको प्रतीकको रूपमा स्थापित गर्यो ।
यद्यपि, त्यो समय सञ्चारको पहुँच शहरी क्षेत्रमा सीमित थियो । तर पनि रेडियो नेपालले ग्रामीण क्षेत्रमा लायन्स अभियानबारे चेतना फैलाउन ठूलो भूमिका खेल्यो । यसरी, सञ्चारमाध्यमले लायन्सलाई अपरिचित क्लबबाट समाजमान्य संस्थामा रूपान्तरण गर्ने पुलको काम गर्यो ।
लायन्स र सञ्चामाध्यमको सहकार्य
प्रारम्भिक चरणदेखि नै लायन्स र मिडियाबीचको सम्बन्ध सृजनात्मक, रणनीतिक र सहकार्यात्मक रह्यो । क्लबले समाज सेवा गरेर समाचार सामग्री उपलब्ध गरायो भने मिडियाले त्यो जनतासम्म पुर्यायो । रेडियो कार्यक्रम र समाचारमार्फत रक्तदान, स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण र विपद् राहतजस्ता कार्यक्रम प्रचारित भए । यसले जनमानसमा सकारात्मक प्रभाव मात्र होइन, सहभागिता र प्रेरणाको वातावरण पनि सिर्जना गर्यो ।
सञ्चारमाध्यमले लायन्स क्लबको कामलाई दृश्यमा ल्यायो भने क्लबले समाज सेवा मार्फत मिडियाका सामग्रीहरू प्रदान गर्यो । यस सहकार्यले लायन्स अभियानलाई स्थायित्व प्रदान गर्यो र नेपाली समाजमा लायनवादको परिचय व्यापक बनायो ।
उदाहरणका लागि, रेडियो कार्यक्रममा क्लबका सदस्यहरूद्वारा सञ्चालित सेवा परियोजनाहरू रक्तदान, स्वास्थ्य शिविर, बालबालिकाका लागि शिक्षामा पहल आदिको प्रत्यक्ष वर्णनले सुन्नेहरूमा सक्रिय सहभागिता र उत्साह जगायो । पत्रपत्रिकामा प्रकाशित समाचारहरूले शहर–सहरमा क्लबको सन्देश फैलाउने काम गर्यो ।
नेपालमा लायनवादको प्रारम्भिक यात्रा अनेक कठिनाइका बाबजुद अघि बढ्न सफल भयो । प्रारम्भिक समयमा घटेका मानवीय र संस्थागत चुनौतीहरूले क्लबलाई अस्थायी रूपमा प्रभावित गरे पनि मिडियाको सहयोगले निरन्तरता कायम रह्यो । छापामाध्यम र रेडियोमार्फत लायन्स क्लबको उद्देश्य, सेवाभाव र अन्तर्राष्ट्रिय सञ्जालको बारेमा समाजमा चेतना फैलाइयो ।
यसरी प्रारम्भिक चरणमा सञ्चारमाध्यमको भूमिका निर्णायक साबित भयो । केवल समाचारको माध्यम नभई, जनचेतना जगाउने, विश्वास निर्माण गर्ने र सदस्यता अभिवृद्धि गर्ने पुलको रूपमा मिडियाले लायन्स क्लबलाई नेपाली समाजमा स्थापित गर्न मद्दत गर्यो ।
नेपालमा लायनवाद र सञ्चारमाध्यमको यो सहकार्यले देखाउँछ कि संस्थागत सेवा र सञ्चार माध्यमको मिलनले समाजमा दीर्घकालीन प्रभाव पार्न सक्छ । प्रारम्भिक कठिनाइहरू र सीमित साधनको बाबजुद, सञ्चारमाध्यमले लायन्स क्लबलाई समाजमा परिचित, सम्माननीय र प्रभावशाली बनाउने कार्य सफलतापूर्वक सम्पन्न गर्यो ।
नेपालमा लायनवादको विकास र विस्तारमा सञ्चारमाध्यमको भूमिका
लायन्स क्लबका अभियानले नेपालमा दृष्टि सुधार, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, महिला सशक्तीकरण, विपद् व्यवस्थापन लगाएतमा उल्लेखनीय योगदान पुर्याएको छ । तर यी अभियानलाई व्यापक बनाउन र दीर्घकालीन प्रभाव पार्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो ।
 जनचेतना सिर्जना गर्ने माध्यम
सञ्चारमाध्यमले लायन्सका कार्यक्रम सेवा गतिविधि र उपलब्धिहरूलाई व्यापक जनसमुदायसम्म पुर्याउने काम गर्छ । समाचार, लेख, रेडियो र टेलिभिजनका कार्यक्रमहरूले दृष्टिविहीनहरूका लागि आँखाको जस्ता अभियान, स्वास्थ्य शिविर, र विपद् राहत कार्यहरूको जानकारी जनतालाई समयमै उपलब्ध गराउँछन् । यसले समुदायमा सहभागी भएर सेवा गर्ने भावना उत्पन्न गर्छ । उपलब्धि, खर्च र परिणाम प्रकाशित हुँदा दाता, स्वयंसेवक र नागरिकको विश्वास बढ्यो ।
 पारदर्शिता र विश्वसनीयता प्रवद्र्धन
सञ्चारमाध्यमले लायन्सका कार्यक्रमहरूको रिपोर्टिङ गर्दै पारदर्शिता र विश्वसनीयता स्थापित गर्न सहयोग पुर्याउँछ । सेवाको परिणाम, खर्च, उपलब्धिहरूको प्रकाशनले दाताहरू, स्वयंसेवक र आम नागरिकको विश्वास बढाउँछ ।
 नेतृत्व र प्रेरणा फैलाउने स्रोत
सञ्चारमाध्यमले सफल कार्यक्रमका उदाहरणहरू, नेतृत्वका कथाहरू र स्थानीय योगदानकर्ताहरूको अनुभव प्रस्तुत गरेर अरूलाई प्रेरित गर्ने काम गर्छ । यसले समुदायमा सक्रिय सहभागिता र नेतृत्व विकासमा योगदान पुर्याउँछ ।
 बहुआयामिक अभियानको सशक्तिकरण
शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, वातावरण संरक्षणजस्ता विभिन्न क्षेत्रका अभियानहरू सञ्चार माध्यमको सहयोग बिना पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन् । सञ्चारमाध्यमले सूचना, तालिम, अभियान र कार्यक्रममा सहभागीता बढाउने पुलको भूमिका खेल्छ ।
नेपालमा लायनवादको विकास र विस्तारमा सञ्चारमाध्यको भूमिका अत्यन्त निर्णायक छ । मिडियाले जनचेतना, पारदर्शिता, प्रेरणा र सहभागिताको वातावरण सिर्जना गरेर सेवा संस्थालाई दीर्घकालीन सफलता दिलाउन मद्दत पुर्याउँछ । यसले केवल समाचार वा सूचना दिने सन्दर्भमा नभई सामाजिक सेवा र मानवसेवामा समग्र योगदान पुर्याउने शक्तिशाली माध्यमको रूपमा कार्य गर्दै आएको छ । आँखा शिविर, स्वास्थ्य सेवा वा शिक्षा अभियानबारे समाचारले समुदायमा सेवा गर्ने संस्कार जगायो ।
सेवाका गतिविधिलाई प्रभावकारी बनाउन सञ्चारको साथ अपरिहार्य बन्यो । नेपालमा सामाजिक सेवाको संस्थागत इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी छ । परोपकारी भावना, सामूहिक सहयोग, र मानवसेवामा आधारित परम्पराले नेपाली समाजलाई सदैव निर्देशित गर्दै आएको छ ।
यसै सामाजिक–सांस्कृतिक परिवेशमा, लायन्स अन्तर्राष्ट्रियमा नेपाली अध्यायले ५५ वर्ष लामो सेवा यात्रा तय गरेको छ । यो यात्राले सेवा, नेतृत्व, सद्भाव र उत्तरदायित्वको अभ्यासमा गहिरो छाप छोडेको छ । यस्ता कार्यहरूलाई सफल बनाउन जनचेतना, पारदर्शिता, सहभागिता र प्रेरणाको सशक्त आधार आवश्यक पर्छ । यसमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ ।
सेवा गतिविधिहरूको सञ्चारमाध्यममा पहुँच र त्यसको प्रभाव
लायन्स क्लबले आयोजना गर्ने सेवाका कार्यक्रमहरू सञ्चारमाध्यममा उल्लेखनीय स्थान पाउने गरेका छन् ।जसले केवल लाभग्राहीलाई फाइदा मात्र पुर्याउँदैन, समाजमा सकारात्मक उदाहरण पनि प्रस्तुत गर्छ ।
जब कुनै गाउँमा आँखा शिविरबारे समाचार आउँछ, अर्को गाउँका अगुवाहरू “हामी पनि गर्न सक्छौं” भन्ने भावना राख्छन् । यसरी, सञ्चारमाध्यमले सेवा अभियानलाई विस्तार गर्ने प्रेरणाको केन्द्रको रूपमा काम गरेको छ । लायन्स क्लबहरूले समय–समयमा आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, आँखा शिविर, छात्रवृत्ति वितरण, भूकम्प, कोभिड र विपतकालीन राहत वितरणजस्ता गतिविधिहरू सञ्चार माध्यममा उल्लेखनीय रूपमा स्थान पाएका छन् । जसले प्रत्यक्ष लाभ मात्र होइन, समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्ने काम पनि गर्छ ।
समाचार माध्यमले यस्ता कार्यक्रमलाई स्थान दिन थालेपछि अन्य संघसंस्था र व्यक्तिहरू पनि यस्ता सेवामा सक्रिय हुन प्रेरित भएका देखिन्छन् । विशेषगरी स्थानीय मिडियाले समाजमा सेवाको संस्कार स्थापना गर्न ठूलो भूमिका खेलेको छ ।
जब मिडियाले कुनै सेवा कार्यक्रमको रिपोर्टिङ गर्छ, त्यसले जनमानसमा “हामी पनि सक्दो सेवा गरौं” भन्ने भावना जगाउँछ । उदाहरणका लागि, कुनै गाउँमा लायन्स क्लबले आँखा शिविर, विद्यालयमा छात्रवृत्ति वा शैक्षिक सामग्री वितरण, वातावरण संरक्षण जस्ता कार्यक्रम आयोजना गरे र त्यसको समाचार प्रकाशित भयो भने, अर्को गाउँका सामाजिक अगुवाहरूले “मेरो गाउँमा पनि यस्ता कार्यक्रम आयोजना गर्न सक्छु” भन्ने सोच राख्न थाल्छन् । यसरी, मिडियाले सेवा अभियानको प्रेरणाको स्रोतको रूपमा काम गर्दछ ।
श्रव्य–दृश्य माध्यमको विकास र लायनवादमा नयाँ ऊर्जा
टेलिभिजन र एफएम रेडियो विस्तारसँगै लायन्स अभियानले नयाँ उचाइ प्राप्त गर्यो । टेलिभिजन समाचार, भिडियो रिपोर्ट, अन्तर्वार्ता र टक शोमार्फत सेवा कार्यक्रम प्रत्यक्ष देख्दा जनमानसमा विश्वास र सरोकार थप प्रगाढ बन्यो ।
लायन्स क्लबका सेवा गतिविधिहरू दृश्य र श्रव्य दुवै माध्यमबाट जनतासामु पुग्न थालेका छन् । अन्य मिडियाभन्दा दृश्य सामग्रीले बढी प्रभाव पार्ने भएकाले, सेवा कार्यहरू प्रत्यक्ष देख्दा जनमानसमा विश्वास र सरोकार थप बढ्दो छ ।
लायन्स क्लबको उद्देश्य र योगदानलाई आम दर्शकसामु सहज रूपमा प्रस्तुत गर्न सकिने भएको छ । धेरै पटक मिडियाले लायन्स क्लबका सेवा कार्यहरू ‘रियल टाइम’ मा रिपोर्ट गरेका छन् । उदाहरणका लागि, आँखा अपरेशन हुँदै गरेको दृश्य, विद्यालय निर्माणको स्थलगत रिपोर्टिङ, वा रक्तदान कार्यक्रममा सहभागी युवा स्वयंसेवकहरूको कुराकानी जस्ता सामग्रीले जनचासो, समर्थन र सहभागिता बढाउन निर्णायक भूमिका खेलेको छ । यसरी, दृश्य–श्रव्य माध्यमको प्रयोगले लायन्स अभियानलाई नयाँ ऊर्जा प्रदान गर्दै, समाजमा यसको प्रभाव र पहिचानलाई अझ मजबुत बनाएको छ ।
 सञ्चार माध्यम र लायन्स सम्बन्धमा पारदर्शिता र उत्तरदायित्वको विकास
सामाजिक संस्था वा क्लबहरूप्रति कहिलेकाहीँ जनमानसमा शंका उत्पन्न हुन्छ । यी संस्था कत्तिको पारदर्शी छन् ? आम्दानीको स्रोत के हो ? कत्तिको वास्तविक सेवा गर्छन् ? यी र यस्ता प्रश्नहरूको उत्तर दिन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्छ । सञ्चार माध्यमले सेवा कार्यक्रमहरू प्रत्यक्ष प्रसारण, स्थलबाट लाइभ रिपोर्टिङ वा कार्यक्रम संयोजकहरूसँग अन्तरवार्ता गरेर लायन्स क्लबहरूको कार्यशैलीलाई पारदर्शी बनाउन मद्दत पुर्याउँछ ।
निरन्तर सञ्चार माध्यमबाट गरिएको रिपोर्टिङले जनसम्पर्क मात्र होइन, विश्वास निर्माण र उत्तरदायित्वको अभ्यासमा पनि योगदान पुर्याएको देखिन्छ । उदाहरणका लागि, कुनै क्लबले विद्यालयको भौतिक संरचना निर्माण गरेमा त्यसको मूल्यांकन, खर्च विवरण, र समुदायको प्रतिक्रिया मिडियाले समेटेर सार्वजनिक गर्दा क्लबको जवाफदेहिता अझ स्पष्ट हुन्छ । यसले लायन्स क्लबहरूलाई जिम्मेवार र समाजमुखी बन्न प्रेरित गरेको स्पष्ट छ ।
सदस्यता विस्तारमा प्रेरक शक्ति बन्दै सञ्चार माध्यम
आजका युवापुस्ताले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) मा क्लबका सेवा गतिविधि प्रत्यक्ष देख्छन् । वृत्तचित्र, अन्तर्वार्ता, नेतृत्व प्रशिक्षणका क्लिपहरूले नयाँ सदस्यलाई आकर्षित गर्छन् । “सञ्चार माध्यमले केवल खबर मात्र पुर्याउँदैन, नेतृत्व र समाज सेवामा नयाँ सोच जन्माउँछ ।“ सञ्चार माध्यमले खबर मात्र दिँदैन, यो नेतृत्व र सेवामा नयाँ सोच जन्माउने उत्प्रेरक शक्ति बनेको छ । यसले लायन्स क्लबको सन्ंदेश र गतिविधि समाजमा पुर्याउने महत्वपूर्ण भूमिका खेलेको छ । धेरै युवाहरूले क्लबमा आबद्ध भएर समाज सेवा गर्न, नेतृत्व विकास गर्न, र अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन सकिने अवसर पाउँदा प्रेरित भएका छन् ।
आजका पुस्ता डिजिटल प्रविधिमार्फत क्लबका सेवा गतिविधि प्रत्यक्ष अनुभव गर्छन् । क्लबहरूले उत्पादन गरेका वृत्तचित्र, अन्तरवार्ता, र नेतृत्व प्रशिक्षणका क्लिपहरूले नयाँ सदस्यहरू उत्प्रेरित गर्दै सदस्यता विस्तार र गुणस्तरीय नेतृत्व विकासमा योगदान पुर्याएका छन् ।
 विपद् व्यवस्थापनमा सञ्चार माध्यम र लायन्स सहकार्य
२०७२ को विनाशकारी भूकम्प वा हालैको कोभिड–१९ महामारीमा लायन्स क्लबको भूमिका असाधारण रह्यो । अक्सिजन सिलिन्डर वितरणदेखि राहत सहयोगसम्म, मिडियाले त्यसलाई देशभर पुर्यायो । “संकटमा सेवा” भन्ने संदेश सञ्चार माध्यमबाट सम्प्रेषण गर्दा समाजमा आशा, विश्वास र सकारात्मकता फैलियो । यसले नागरिक, व्यवसायी, दाता र सरकारी निकायबीच सहकार्यको वातावरण सिर्जना गर्यो । संकटका समयमा लायन्स क्लबहरूले निर्वाह गरेको भूमिका उल्लेखनीय रह्यो । पीडितलाई राहत वितरण, स्वास्थ्य सामग्री उपलब्ध गराउने, अक्सिजन सिलिन्डर र आइसोलेशन किट वितरण गर्ने जस्ता कार्यहरूमा सञ्चार माध्यमले सक्रिय सहकार्य गरेको थियो ।
सञ्चार माध्यमहरूले संकटको समयमा सेवा गरिरहेका लायन्स सदस्यहरूको कथाहरू प्रकाशन गर्दै ‘संकटमा सेवा’ भन्ने भावनालाई समाजमा फैलाउने काम गरे । यस्ता पहलहरूले समाजमा आशा, विश्वास र सकारात्मकता जगाउन मद्दत पुगेको पाईन्छ । यसले परोपकारी व्यक्ति, व्यवसायी, अन्तर्राष्ट्रिय दाताहरू र सरकारी÷सांस्थानिक निकायबीच सहयोगको वातावरण पनि सिर्जना गर्यो ।
सञ्चार माध्यमले सेवा अभियानको ‘कम्युनिकेशन च्यानल’को रूपमा नभई, ‘प्रेरणाको केन्द्र’को रूपमा पनि आफ्नो भूमिका निर्वाह गरेको थियो । यस सहकार्यले विपद् व्यवस्थापनमा नागरिक सहभागिता र समाजिक एकतालाई सुदृढ बनाउने महत्वपूर्ण योगदान दिएको छ ।
परम्परागत सञ्चार माध्यमबाट प्रविधियुक्त सञ्चार माध्यमतर्फको रूपान्तरण
प्रविधयुक्त सञ्चार केवल प्रविधि मात्र नभै सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनको पनि सूचक हो । यसले पत्रकारिता र समाचार उपभोग दुवैलाई गतिशील, सुलभ र बहुआयामिक बनाएको छ । तर, विश्वसनीयता र जिम्मेवारी कायम राख्न पत्रकार, सञ्चारमाध्यम र पाठक÷दर्शक सबैले सजग र विवेकी भूमिका निर्वाह गर्न आवश्यक छ ।
आज लायन्स क्लबहरू फेसबुक पेज, युट्युब च्यानल, वेबसाइट, अनलाइन पोर्टल, पोडकास्ट र डिजिटल टिभीसम्म सक्रिय छन् । प्रेस विज्ञप्ति मात्र होइन, लाइभ स्ट्रीम, डिजिटल पोस्टर र अनलाइन अन्तर्वार्तासम्म प्रयोग हुन्छ । यसरी, डिजिटल युगमा क्लबहरूले आफ्नो ब्रान्ड, पारदर्शिता र प्रेरणालाई अझ व्यापक र प्रभावकारी बनाउन थालेका छन् । तर यससँगै विश्वसनीयता, तथ्य–जाँच र व्यावसायिक दबाबजस्ता चुनौती पनि बढेका छन् । त्यसैले, पत्रकारिता र क्लब दुवैले पारदर्शिता र जवाफदेहिता कायम राख्नुपर्छ ।
सञ्चार स्वयं सेवा अभियानको महत्वपूर्ण अंग बन्दै
आजका लायन्स क्लबहरू सञ्चारसँग केवल सहकार्यमै सीमित छैनन्, बरु यसलाई सेवा अभियानकै अभिन्न हिस्सा बनाउँदै आएका छन् । क्लबहरूले पत्रकारलाई सल्लाहकार, सूचना संयोजक वा सञ्चार प्रशिक्षकको रूपमा समावेश गर्दै आएका छन् । पत्रकारको अनुभव, प्रस्तुति शैली र सामाजिक सञ्जाल क्षमताले क्लबको ब्रान्ड निर्माणमा सहयोग पुर्याइरहेको छ ।
साथै, क्लबका सदस्यलाई मिडिया ह्यान्डल गर्ने तालिम—जस्तै पत्रकार सम्मेलन सञ्चालन, प्रेस विज्ञप्ति तयार पार्ने र सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्ने—समेत प्रदान भइरहेको छ । यसले क्लबको पेशागतता र अभियानको दिगोपनामा महत्वपूर्ण योगदान दिएको छ । सञ्चार सम्बद्ध प्रशिक्षकहरूको सहयोगले क्लबका कार्यक्रमहरू पेशागत र व्यवस्थित बन्ने वातावरण तयार पारेको छ।
सञ्चार माध्यमको प्रभावकारी प्रयोगले अभियानको दिगोपनामा पनि महत्वपूर्ण योगदान दिएको छ । समुदायमा क्लबको पहिचान सुदृढ हुनुका साथै सेवाका अभियानहरू बढी जनसहभागितापूर्ण र प्रभावकारी बनेका छन् । यसले लायन्स क्लबहरूको समर्पण र नेतृत्व क्षमताको वास्तविक प्रतिबिम्ब प्रस्तुत गर्दछ । यसैबीच, पत्रकार र क्लबबीचको सहकार्यले सेवा कार्यक्रमहरूलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउने दिशामा नयाँ ढोका खोलेको छ ।
अन्त्यमा, सहयात्राबाट प्रेरणातर्फ
नेपालमा लायन्स र सञ्चार माध्यमको पाँच दशकभन्दा लामो सहयात्राले देखाएको छ—जब सेवा र सञ्चार एकैसाथ अघि बढ्छन्, समाजमा स्थायी सकारात्मक परिवर्तन सम्भव हुन्छ ।आज लायन्स क्लबहरू निस्वार्थ सेवामा समर्पित छन् भने सञ्चार माध्यमहरू सामाजिक उत्तरदायित्वमा । दुबैको सहकार्यले नेपाललाई अझ उज्यालो, सचेत र सहभागी समाजतर्फ अघि बढाउनेछ । लायन्सको सेवा र सञ्चार माध्यमको कलम÷क्यामेरा एउटै लक्ष्यमा भेटिँदा, त्यो यात्रा केवल समाचार होइन, प्रेरणा बन्न पुग्छ । यही प्रेरणा हाम्रो भविष्यको ऊर्जा हो ।

(विगत ३० बर्षदेखि पत्रकारिता गर्दै आईरहेका अधिकारी पोखरा भ्यूज डट कमका कार्यकारी सम्पादक रहेका छन् ।)

 

 

59Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected