
पोखरा । जापानको नायोरो नगरका उपप्रमुखसहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा वृद्धाश्रममा स्वागत गरिएको छ। नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो तथा समाजकल्याण शाखाका प्रबन्ध निर्देशक युटो गोटो सहितको टोलीलाई पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै उपप्रमुख हाशिमोतोले आफू दोश्रोपटक पोखरा आएको बताउँदै यो आफ्नो मनपर्ने स्थानमध्ये एक भएको उल्लेख गरे। उनले जापानमा ज्येष्ठ नागरिक हेरचाह, औसत आयु, सेवा प्रणाली लगायतका विषयमा जानकारी बाँडे।
वृद्धाश्रमका अध्यक्ष पराजुलीले समाजसेवी स्व. ऋषिकेशव पराजुलीद्वारा २०५३ सालमा स्थापना गरिएको पोखरा वृद्धाश्रमले स्थापना कालदेखि नै असहाय ज्येष्ठ नागरिकलाई आश्रयस्थलका रूपमा सेवा पुर्याउँदै आएको बताए। यसअघि नायोरोमा ज्येष्ठ नागरिक सेवा प्रणालीबारे प्रत्यक्ष रूपमा धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले त्यहाँका सिकाइहरूलाई सीमित स्रोत–साधनबीच पनि पोखरामा लागू गर्ने प्रयास भइरहेको जानकारी दिए।
कार्यक्रममा नायोरो समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्साललगायतले मन्तव्य राखेका थिए।
अन्त्यमा अध्यक्ष पराजुलीले नायोरो नगर र समाजकल्याण शाखाका प्रतिनिधिलाई नेपाल–जापान मैत्री झल्कने प्रकारको मायाको चिनो प्रदान गरेका थिए।











