
पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ।
आगामी निर्वाचनका लागि पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवादलाई सहज बनाउने उद्देश्यले ती सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको रास्वपाले जनाएको छ।
यसै क्रममा पोखरा–८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको छ। साथै, निर्वाचन क्षेत्रका विभिन्न स्थानमा नागरिकका सुझाव संकलन गर्ने कार्यसमेत निरन्तर रूपमा जारी रहेको रास्वपा कास्की–२ सचिवालयले जानकारी दिएको छ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रस्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उत्तम पौडेलले कास्की निर्वाचन क्षेत्र नम्बर २ को समग्र विकास जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने उल्लेख गरे। उनले परिवर्तनका लागि कास्की–२ का मतदाताहरूलाई साथ र सहयोग गर्न आग्रहसमेत गरे।
यसैबीच उम्मेदवार पौडेलले निर्वाचन क्षेत्रका नागरिकहरूसँग निरन्तर छलफल, अन्तरक्रिया तथा सुझाव संकलन गर्दै आएको रास्वपाले जनाएको छ।






सम्बन्धित खवर















