
काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना गरिन्छ।
समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतको कलशसहित प्रकट भएको धार्मिक विश्वासअनुसार यस दिनलाई आरोग्य, स्वास्थ्य र समृद्धिको प्रतीक मानिन्छ।
धनतेरसका अवसरमा सुन, चाँदी, पित्तलका भाँडाकुँडा, गरगहना, सवारी साधन तथा घरायसी सामग्री खरिद गर्ने परम्परा छ। यस दिन नयाँ सामग्री किन्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने जनविश्वास रहेको छ।
यसैबीच, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनत्रयोदशी तथा यमदीपदान गरिनेछ। धनतेरससँगै तिहारको उल्लास पनि सुरु भएको छ।











