२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
खबर

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विभिन्न तहमा निर्वाचित नेता तथा प्रतिनिधिहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ।

वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, क्षेत्रीय तथा महानगर तहका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै पार्टीको संगठन सुदृढीकरण, नेतृत्वको जिम्मेवारी, राष्ट्रिय राजनीति, धार्मिक पहिचान, युवा उद्यमशीलता र रोजगारीका विषयमा समेत विचार विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रका रूपमा पुनःपरिभाषित गर्नुपर्ने धारणा राखे। नेपालको मौलिक पहिचान, ऐतिहासिक निरन्तरता र राष्ट्रिय एकतालाई बलियो बनाउन यस्तो अवधारणा आवश्यक रहेको उनको भनाइ थियो।

शर्माले धर्मनिरपेक्षताले नेपालको मौलिक पहिचान र राष्ट्रिय एकतामा असर पारेको दाबी गर्दै यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताए। धर्मनिरपेक्षताको निर्णयले देश, जनता र प्रजातन्त्रमाथि धोका भएको आफ्नो धारणा राख्दै उनले यस विषयमा देशसँग माफी माग्नुपर्ने समेत बताए।

उनले धार्मिक स्वतन्त्रतासहितको सनातन धार्मिक राज्यको अवधारणा कुनै धर्म वा सम्प्रदायको पक्ष वा विपक्षमा नभई नेपालको मौलिक पहिचान र ऐतिहासिक निरन्तरताको सम्मान भएको स्पष्ट पारे। साथै, राजनीतिक स्थायित्व, शान्ति र राष्ट्रिय एकताका लागि २०४७ सालको संविधानका मूलभूत सबल पक्षलाई वर्तमान राजनीतिक परिवेशअनुसार परिमार्जनसहित पुनःस्थापित गर्न नेपाली कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण केसीले युवालाई राजनीति, उद्यमशीलता र रोजगारीसँग जोड्नु आजको आवश्यकता भएको बताए। वडा नं. ७ का स्थानीय बासिन्दासमेत रहेका केसीले आफूलाई केन्द्रीय सदस्यसम्म पुग्न कार्यकर्ताको प्रेरणा, माया र ममताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई जनतासँग जोडिएर काम गर्ने अवसरका रूपमा लिएको बताए।

देशको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले ब्याजदर कम हुँदा पनि लगानीको वातावरण बन्न नसकेको, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको र नेतृत्व तहमा समेत संकट देखिएको बताए।

‘युवालाई राजनीति र उद्यममा जोड्न सकिन्छ भनेर कांग्रेस केन्द्रीय सदस्य बनेको हुँ,’ केसीले भने, ‘राजनीतिलाई उद्यम, व्यवसाय र निजी क्षेत्रसँग जोड्न नेतृत्व तहमा उद्यमीहरू पनि आउनुपर्छ।’

उनले युवालाई राजनीतिक भाषणमा मात्र सीमित नराखी रोजगारी, उद्यम र अवसरसँग जोड्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। युवापुस्ताको ऊर्जा, उद्यमशीलता र निजी क्षेत्रको अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्न सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्य सञ्चालन अपेक्षाअनुसार हुन नसकेको बताइन्। विषम परिस्थितिमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू थप जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले पार्टीको संगठन, नेतृत्व र समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा कास्की क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवं पोखरा महानगरपालिका वडा नं. ७ का निवर्तमान सभापति नवीन बरालले पार्टीलाई थप गतिशील र सुदृढ बनाउन सबैको साथ, सहयोग र समर्थनलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले संगठनको एकता, सहकार्य र सामूहिक जिम्मेवारीलाई आत्मसात् गर्दै पार्टीलाई जनतामाझ अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छे, प्रजातन्त्र सेनानी एवं महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बराल, कास्की क्षेत्र नं. २ प्रदेशसभा (क) का सभापति भोजराज आचार्य तथा पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा १५औँ महाधिवेशनबाट विभिन्न तहमा निर्वाचित नेता तथा प्रतिनिधिहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। वक्ताहरूले निर्वाचित नेतृत्वले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताबीच एकता र जनतासँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका थिए।

कार्यक्रमले विभिन्न चाडपर्वको सांस्कृतिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै आपसी सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गरेको थियो। सहभागीहरूले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ का सभापति दामोदर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा कार्यसमितिका सचिव सुमन पौडेलले गरेका थिए।

Read more

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…