1Shares

पोखरा। कास्की क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको चुनावी अभियानले नयाँ ऊर्जा पाएको छ। माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी, २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रही पूर्व गाविस अध्यक्ष समेत रहनु भएका आशबहादुर गुरुङ र समाजसेवी पूर्णबहादुर गुरुङको नेपाली कांग्रेस प्रवेशले स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण संकेत दिएको छ। लामो समय वामपन्थी राजनीतिमा संलग्न व्यक्तित्वहरू कांग्रेसमा प्रवेश गर्नुले कांग्रेसप्रतिको बढ्दो विश्वास र परिवर्तनको चाहनालाई स्पष्ट रूपमा देखाएको छ।

यसैक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ ले माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ र वडा नं. ४ मा सम्पर्क कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनसँगै घरदैलो अभियानलाई तीव्र बनाएको हो।

स्थानीय तहमा विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता र आकर्षण बढ्दै जानुले कांग्रेसको अभियानलाई थप सशक्त बनाएको छ।  माछापुच्छ्रे गाउँपालिका केन्द्रित अभियानले जनतासँग प्रत्यक्ष संवादको अवसर सिर्जना गरेको छ, जसले पार्टी र मतदाताबीचको दूरी घटाउँदै गएको देखिन्छ।

प्रचार कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज गुरुङले घरदैलो अभियानलाई चुनावी रणनीतिको मूल आधार बनाइएको बताए। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुझाव, गुनासा र अपेक्षा संकलन गरी कांग्रेसका नीति, कार्यक्रम र भावी प्रतिबद्धता पत्रमा समेटिने स्पष्ट पारे। यसले कांग्रेसको अभियान केवल प्रचारमा सीमित नभई जनआवाजमा आधारित नीति निर्माणतर्फ केन्द्रित रहेको सन्देश दिएको छ।

कास्की–३ मा देखिएको यो राजनीतिक गतिविधिले कांग्रेसको सांगठनिक विस्तारसँगै चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अनुभवी नेता, समाजसेवी र उत्साही युवाको संयोजनले कांग्रेसको अभियानलाई बलियो आधार प्रदान गरेको जानकार बताउछन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected