नवौँ वालिङ महोत्सव सम्पन्न: १२ दिनसम्म चलेको महोत्सवले स्थानीय अर्थतन्त्र र संस्कृतिको प्रवर्द्धन गरेको निष्कर्ष

वालिङ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेदेखि सञ्चालन भएको नवौँ वालिङ महोत्सव १२औँ दिन हिजो आइतबार सम्पन्न भएको छ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सूर्यकृष्ण वैद्यले मेला–महोत्सव रमाइलोका लागि मात्र नभई आर्थिक उन्नति र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएको बताए । उनले १२ दिने महोत्सवले यस क्षेत्रको आर्थिक चलायमानतामा उल्लेखनीय टेवा पुगेको उल्लेख गर्दै भने,
“मेला–महोत्सव मनोरञ्जनसँगै स्थानीय भेषभूषा, जातजाति, महिला समूह, किसान र युवाको प्रवर्द्धन गर्ने साझा मञ्च हो। आर्थिक उन्नतिसँगै समाजप्रति उत्तरदायित्व बहन गर्नु उद्योग वाणिज्य संघको दायित्व हो।”
समापन कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराजराज भण्डारी, गरिमा विकास बैंकका कार्यकारी प्रमुख माधव आचार्य, महासंघका पूर्व केन्द्रीय तथा वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष माधव श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार नेत्रप्रसाद पाण्डे तथा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदीप कोइरालालगायतले मन्तव्य राखेका थिए ।
करीब ४०० स्टल रहेको महोत्सवमा कृषि तथा हस्तकला, शैक्षिक प्रदर्शनी, औद्योगिक तथा व्यावसायिक स्टलहरू समावेश गरिएको थियो।
महोत्सवअन्तर्गत सम्पन्न स्याङ्जा डान्स आइडल प्रतियोगितामा रविना राम्जालीले उपाधि हात पारेकी छन् । प्रतियोगितामा आयुषा खत्री द्वितीय, जयन्ती अर्याल तृतीय र सिसम सिँजाली सान्त्वना हुन सफल भएका थिए ।
यसैगरी, विद्यालयस्तरीय नृत्य प्रतियोगितातर्फ बालविद्या विकास आवासीय माध्यमिक विद्यालय प्रथम, साइनभिलेज एकेडेमी माध्यमिक विद्यालय द्वितीय, अर्मादी आवासीय माध्यमिक विद्यालय तृतीय र पिसजोन इन्टिग्रेटेड एकेडेमी माध्यमिक विद्यालय सान्त्वना भएका छन्।
स्थानीय उत्पादन, कला, संस्कृति र प्रतिभालाई एकै थलोमा प्रस्तुत गरिएको महोत्सवले वालिङको पहिचानलाई थप मजबुत बनाएको आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले बताए ।






सम्बन्धित खवर















