0Shares

स्याङ्जा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लागि स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सामान्यतया पाँच–पाँच वर्षमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन यसपटक भने तीन वर्षमै हुन लागेको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा भंग भएसँगै निर्वाचनको मिति तोकिएको थियो। निर्वाचन आयोगले फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार खुला गरेपछि उम्मेदवार र दलका कार्यकर्ताहरू मत माग्दै जनताको घरदैलोमा व्यस्त छन्। गाउँ–सहर, बजार–टोल सबै ठाउँमा अहिले चुनावी माहोल तातेको छ।

जिल्लाभर २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन्। उम्मेदवारहरू सबै मतदातासम्म पुग्ने प्रयासमा छन्। घरदैलो कार्यक्रमसँगै विभिन्न सहर तथा बजार क्षेत्रमा पनि भेटघाट र अन्तरक्रिया भइरहेका छन्।

यद्यपि मतदाताहरूको बुझाइ फरक छ। “निर्वाचन आएपछि मात्र नेताहरू घरदैलोमा देखिन्छन्,” भन्ने गुनासो सुनिन्छ। मतदाताहरू चाहन्छन्—निर्वाचनपछि पनि निर्वाचित प्रतिनिधि आफ्नै घरआँगनमा देखिनुपर्छ।

स्याङ्जाको चुनावी इतिहास हेर्दा नेपाली काँग्रेसनेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। २०४८ सालदेखि २०७९ सम्म यी दुई दलले आलोपालो संसद् प्रतिनिधित्व गरेका छन्।

२०७४ को निर्वाचनमा दुवै संघीय क्षेत्र एमालेले जितेको थियो भने २०७९ मा काँग्रेस विजयी भएको थियो। यसपटक काँग्रेस पुरानो विरासत जोगाउने रणनीतिमा छ भने एमाले २०७४ को नतिजा दोहोर्याउने अभियानमा जुटेको छ।

तर यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप चुनौती सिर्जना गरेको देखिन्छ। काँग्रेस–एमालेबीचको परम्परागत प्रतिस्पर्धामा नयाँ समीकरणको संकेत देखिएको छ। यसअघि गठबन्धन गरेर प्रतिस्पर्धा गरेका दलहरू यसपटक भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेदवारहरू पाँच वर्षमा आफ्नो क्षेत्रमा गर्ने विकासको स्पष्ट मोडेल र प्रतिबद्धता बोकेर मत मागिरहेका छन्। सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि आधुनिकीकरण मुख्य एजेण्डाका रूपमा प्रस्तुत गरिएका छन्। मतदाताहरू भने वाचा मात्रै होइन, कार्यान्वयनको अपेक्षा राखिरहेका छन्।

स्याङ्जामा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। परम्परागत प्रतिस्पर्धा, नयाँ दलको चुनौती र मतदाताको अपेक्षाले यसपटकको निर्वाचनलाई अझ रोचक बनाएको छ। अब प्रश्न यही छ—स्याङ्जावासीले यसपटक कसलाई आफ्नो प्रतिनिधि बनाउनेछन्? फागुन २१ को नतिजाले त्यसको उत्तर दिनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected