
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय अनुमोदन गर्दै शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढाएको हो।
पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रस्तावमा सबै सदस्यहरूले समर्थन जनाएपछि शाहलाई संसदीय दलको नेता चयन गरिएको हो। केहीबेर अघि सम्पन्न बैठकले औपचारिक रूपमा संसदीय दलको नेतृत्व टुंगो लगाएको पार्टी स्रोतले जनाएको छ।
निर्णयसँगै आज साँझ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संसदीय दलको नेता चयनबारे जानकारी गराइने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपतिले संवैधानिक प्रावधानअनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेसँगै रास्वपा सरकार गठनको अन्तिम चरणमा पुगेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सिट जित्दै रास्वपाले बहुमत सुनिश्चित गरेको हो। नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सोही संवैधानिक प्रावधानअनुसार बालेन शाहले यही चैत १३ गते रामनवमीका दिन प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।





सम्बन्धित खवर















