
पोखरा, चैत १३ — बालबालिकाको गोपनीयता, आत्मसम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राख्दै गण्डकी प्रदेशका सञ्चारकर्मीहरूले “पोखरा घोषणापत्र २०८२” जारी गरेका छन्। बालमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको उक्त घोषणापत्रले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र संवेदनशील बनाउने अपेक्षा गरिएको छ।
घोषणापत्र राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीबीच पोखरामा सम्पन्न ‘बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’ पछि जारी गरिएको हो। कार्यक्रममा बालबालिकाको सर्वोत्तम हित र सञ्चारमाध्यमको उत्तरदायित्वलाई गम्भीरतापूर्वक मनन गर्दै ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले बालबालिकालाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्तिले उनीहरूको मानसिक तथा सामाजिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले जिम्मेवार पत्रकारिता आवश्यक रहेको उल्लेख गरे।
त्यस्तै, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने र प्रेस रजिष्ट्रार कार्यालय गण्डकीका सुरेश रानाभाटले बालमैत्री सञ्चार निर्देशिकाका मुख्य प्रावधान, बाल संवेदनशील पत्रकारिता र आचारसंहिताको व्यवहारिक पक्षबारे सहजीकरण गरेका थिए। कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख हरिबहादुर खपाङ्गीको अध्यक्षता रहेको थियो भने नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्रले बाल अधिकार संरक्षणमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
घोषणापत्रमा समेटिएका ८ बुँदे प्रतिबद्धताअनुसार सञ्चारकर्मीहरूले बालबालिकाको गोपनीयता र आत्मसम्मानको पूर्ण संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन्। बालबालिकाको नाम, तस्बिर, भिडियो वा पहिचान खुल्ने कुनै पनि विवरण प्रकाशन तथा प्रसारण नगर्ने उल्लेख गरिएको छ। यस्तै, यौन हिंसा वा कानुनी विवादमा परेका बालबालिकालाई ‘अपराधी’ वा ‘पीडित’ जस्ता लाञ्छनापूर्ण शब्दावली प्रयोग नगर्ने पनि प्रतिवद्धता गरिएको छ।
त्यसैगरी, हत्या, आत्महत्या, दुर्घटना वा विपद्का घटनामा बालबालिकासम्बन्धी बीभत्स तथा सनसनीपूर्ण सामग्री प्रकाशन नगर्ने, अन्तर्वार्ता वा तस्बिर प्रयोग गर्नुअघि अभिभावक वा सम्बन्धित निकायको अनुमति लिने, तथा समाचार लेखनमा बालमैत्री र सम्मानजनक भाषा प्रयोग गर्ने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ।
घोषणापत्रले बालबालिकाका सकारात्मक पक्षहरू—जस्तै सिर्जनशीलता, नवप्रवर्तन, उपलब्धि र बालक्लबका गतिविधिहरूलाई सञ्चारमाध्यममा प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै, बालबालिकाको स्वास्थ्य, मनोविज्ञान वा सुरक्षामा नकारात्मक असर पार्ने विज्ञापन सामग्री प्रकाशन नगर्ने र राजनीतिक स्वार्थका लागि बालबालिकाको प्रयोग नगर्ने उल्लेख गरिएको छ।
यसका अतिरिक्त, प्रेस काउन्सिल नेपालद्वारा जारी ‘बालमैत्री सञ्चार निर्देशिका २०७३’ लाई सम्पादकीय नीतिको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्ने र सञ्चारगृहहरूले आन्तरिक रूपमा स्वनियमनको अभ्यासलाई सुदृढ गर्ने प्रतिवद्धता पनि गरिएको छ।
कार्यक्रमले बालबालिकालाई आजका साझेदार र भोलिका कर्णधारका रूपमा स्वीकार गर्दै उनीहरूको सुरक्षित वर्तमान र उज्ज्वल भविष्य निर्माणमा सञ्चारमाध्यमको भूमिका ‘रक्षक’ का रूपमा हुनुपर्ने निष्कर्ष निकालेको छ।
सञ्चार क्षेत्रको यस्तो प्रतिबद्धताले बाल अधिकार संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। घोषणापत्रको प्रभावकारी कार्यान्वयन भएमा नेपालमा बालमैत्री पत्रकारिताको अभ्यास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।





सम्बन्धित खवर















