
पोखरा। पोखरामा आयोजित अन्तर–बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगितामा 1/5 जीआर टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा 1/5 जीआरले 5/8 जीआरमाथि ३–० को सोझो सेटमा जित निकाल्दै आफ्नो दबदबा कायम गर्यो।
भारतीय पेन्सन वितरण केन्द्र रामबजार पोखराको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा 1/5 जीआरले पहिलो सेट २५–१४ ले सहज रूपमा जितेको थियो। दोस्रो सेटमा २५–२० को नतिजा निकाल्दै टोलीले आफ्नो अग्रता मजबुत बनायो। तेस्रो सेटमा प्रतिस्पर्धा कडा बने पनि २६–२४ ले जित निकाल्दै 1/5 जीआरले क्लिन स्वीप गर्दै उपाधि आफ्नो नाममा लेखायो।
यद्यपि, 5/8 जीआर टोलीले अन्तिम सेटसम्म कडा चुनौती प्रस्तुत गरेको थियो, तर निर्णायक क्षणमा अंक जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो।
रामबजारस्थित भारतीय पेन्सन वितरण केन्द्रमा आयोजित प्रतियोगिता केही दिनअघिदेखि सञ्चालन हुँदै आएको थियो र आज औपचारिक रूपमा समापन गरिएको हो। प्रतियोगितामा आयोजकसहित विभिन्न बटालियनका १९ टोलीहरूको सहभागिता रहेको थियो, जसमा गण्डकी प्रदेशका साथै बाहिरी जिल्लाबाट समेत भूपू सैनिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

समापन समारोहमा केन्द्र प्रमुख लेफ्टिनेन्ट कर्नेल चितरञ्जन साहु ले खेलकुदले सेवानिवृत्त जीवनलाई पनि अनुशासित, सक्रिय र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले भूतपूर्व सैनिकहरूबीच आपसी एकता, सद्भाव र स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताका खेलहरू राष्ट्रियस्तरका अनुभवी रेफ्रीहरूले सञ्चालन गरेका थिए। कार्यक्रमलाई नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स ले विशेष सहयोग गरेका थिए।
उपाधि विजेता टोलीले रु. १ लाख, उपविजेताले रु. ५० हजार तथा तृतीय स्थान हासिल गर्ने टोलीले रु. ३५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता टोलीलाई प्रमुख अतिथिका रूपमा रहेका लेफ्टिनेन्ट कर्नेल साहुले पुरस्कार वितरण गरेका थिए।





सम्बन्धित खवर















