
पोखरा। कास्कीस्थित कस्केली अधिकृत समाजले स्याङ्जा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।
समाजले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गर्दै प्रत्येक वर्ष पोखरा र आसपासका सम्भावनायुक्त धार्मिक गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको छ। यसै क्रममा चालु वर्ष स्याङ्जाका नवग्रह मन्दिर, सतौंचण्डी, भालुपहाड लगायतका महत्वपूर्ण धार्मिक स्थलहरूलाई समेटिएको हो।
उक्त भ्रमणमा २८ जना सदस्यहरूको सहभागिता रहेको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय चर्चामा आएका अर्जुनचौपारी गाउँपालिकास्थित नवग्रह मन्दिर तथा पुतलीबजार नगरपालिकास्थित सतौंचण्डी जस्ता गन्तव्यलाई प्राथमिकतामा राखिएको हो।
“हामीले हरेक वर्ष धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको पहिचान र प्रवर्द्धनमा ध्यान दिँदै आएका छौं,” अध्यक्ष सुवेदीले भने, “यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौं।”
यस प्रकारका भ्रमण कार्यक्रमले ओझेलमा परेका धार्मिक गन्तव्यहरूलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन समाजका सहसचिव वासुदेव पौडेलको संयोजकत्वमा मैया पराजुली, अनिलकुमार शाही, वसन्त चालिसे र चन्द्रावती अधिकारी सदस्य रहेको उपसमिति गठन गरिएको थियो।
समाजका सचिव महेश पौडेलका अनुसार यसअघि पनि समाजले स्याङ्जाको नुवाकोट, बाग्लुङको पञ्चकोट, लम्जुङ दरबार, पर्वत तथा स्याङ्जाका डहरेदेउराली, अन्धाअन्धी लगायतका गन्तव्यमा यस्तै प्रवर्द्धनात्मक भ्रमण सम्पन्न गरिसकेको छ।





सम्बन्धित खवर














