टेम्पल बेल बुटिक होटल एण्ड स्पाको वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रम
- May 2, 2026
- 81

पोखरा, वैशाख १९ । पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस र बुद्ध जयन्तीको अवसर पारेर होटलले रक्तदान, सरसफाइ तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम आयोजना गरेको हो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो। त्यसैगरी, लेकसाइडको स्ट्रिट नं. १७ मा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा होटलमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
होटलमा कार्यरत ७० जना कर्मचारीमध्ये ६ जनालाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ। वर्षभरि उनीहरूले गरेको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा विभिन्न ६ विधाबाट कर्मचारीहरूलाई पुरस्कृत गरिएको होटलले जनाएको छ।
वार्षिकोत्सवको दोस्रो चरणअन्तर्गत काष्ठकला निर्माण, ढुङ्गाका शिल्पकार, इन्टेरियर डिजाइनर लगायत होटल निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ।
उक्त होटल पोखराका प्रतिष्ठित चिली समूहका सञ्चालक दाजुभाइ विश्वराज पौडेल र भिष्मराज पौडेलद्वारा संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ।
नेपाली वास्तुकला, काष्ठकला, ढुङ्गा र हस्तकलाको कलात्मक सजावट तथा हरियालीयुक्त वातावरणमा सञ्चालित होटल स्थापना भएको पहिलो वर्षमै अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा पर्न थालेको सञ्चालक विश्वराज पौडेलले बताए।
पर्यटन क्षेत्रमा झण्डै दुई दशकभन्दा बढी अनुभव हासिल गरेका पौडेल दाजुभाइले होटलमा पोखरा र वरपरका प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधता झल्किने संरचना र सजावटमा विशेष ध्यान दिएको बताएका छन्।
होटलमा दक्ष, अनुभवी र मैत्रीपूर्ण कर्मचारीमार्फत सेवा प्रदान गर्दै अतिथिलाई शारीरिक विश्रामसँगै आत्मिक सन्तुष्टि दिने लक्ष्य राखिएको अर्का सञ्चालक भिष्मराज पौडेलले जानकारी दिए।





सम्बन्धित खवर















