0Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले सीपमूलक तालिमले स्थानीय महिला तथा युवालाई आत्मनिर्भर बनाउँदै स्वरोजगार र उद्यमशीलताको नयाँ ढोका खोल्ने बताएका छन्।

१५ दिने निःशुल्क जेन्स–लेडिज हेयर कटिङ तथा ब्युटिसियन तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले व्यावसायिक सीपलाई आम्दानीसँग जोड्न सके बेरोजगारी न्यूनीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले वडा कार्यालयले नागरिकको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तथा आयआर्जन वृद्धि गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

पोखरा महानगरपालिका वडा नं. ७ को आयोजना तथा श्रेना युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लिको सहकार्यमा सञ्चालित १५ दिने तालिममा १७ जना प्रशिक्षार्थी सहभागी भएका थिए। तीन जना प्रशिक्षकले जेन्स तथा लेडिज हेयर कटिङ र ब्युटिसियनसम्बन्धी आधारभूत तथा व्यवहारिक सीप प्रदान गरेका थिए।

समापन कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेल, कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता जिसी सुनार, बसुन्धरा लामिछाने, अर्जुन थापा, बिष्णुहरि बराल, पोखरा महानगरपालिका वडा नं. ३ का वडा सदस्य सबी परियार, नेपाल गृहश्रमिकका अध्यक्ष माया लामिछाने, प्रशिक्षक श्रेना युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लिकी प्रोप्राइटर शर्मिला रानाभाटलगायतले सीपमूलक तालिमले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार तालिम सम्पन्न गरेका सहभागीहरूले ब्युटी तथा हेयर ड्रेसिङ व्यवसाय सञ्चालन गर्न आवश्यक आधारभूत ज्ञान र व्यवहारिक सीप हासिल गरेका छन्। वडा कार्यालयले आगामी दिनमा पनि स्थानीय नागरिकलाई स्वरोजगारमुखी बनाउने यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected