0Shares

पोखरा, असार २१ — देशभर अधिकांश बचत तथा ऋण सहकारी संस्था विभिन्न समस्या र संकटबाट गुज्रिरहेका बेला गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा परिचित विशाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

संस्थाले आफ्नो १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आगामी आर्थिक वर्षका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्दै सहकारीप्रतिको जनविश्वास थप सुदृढ बनाउने लक्ष्य अघि सारेको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा सहकारीप्रति आम नागरिकको सकारात्मक धारणा निर्माण गर्ने, वास्तविक शेयर सदस्य तथा ऋणी सदस्यको संख्या बढाउने, नवप्रवर्तनमुखी कार्यक्रममार्फत सदस्यलाई प्रोत्साहन गर्ने, दबाबरहित ऋण असुली रणनीति लागू गर्ने, बचत संस्कृतिलाई थप मजबुत बनाउने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना समेटिएको छ।

उहाँले सहकारीका सिद्धान्तअनुसार बचत र ऋण लगानी विस्तार गर्ने, समयसापेक्ष ब्याजदर कायम राख्ने तथा भूकम्प, कोभिड–१९ लगायतका विपद्पछि प्रभावित नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने कार्यक्रमहरू पनि आगामी वर्षको नीतिमा समावेश गरिएको जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न नीति, योजना तथा बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष बालकृष्ण ढकाल, सचिव प्रदीपकुमार मुल्मी, सञ्चालक ईउलकुमारी पुन लगायत पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरूले विशाल सहकारीप्रति सर्वसाधारणदेखि प्रतिष्ठित व्यवसायीसम्मले व्यक्त गरेको विश्वासलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण दुवाडीले आगामी दिनमा वित्तीय सहकारीहरूले थप चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्ने भएकाले त्यसअनुरूप स्पष्ट नीति, कार्यक्रम र बजेट निर्माण अपरिहार्य रहेको बताउनुभयो।

संस्थाका सल्लाहकार गोविन्दप्रसाद ढकाल तथा कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले अधिकांश सहकारीको प्रमुख समस्या ऋण असुली रहेको उल्लेख गर्दै विशाल सहकारीले अघि सारेको दबाबरहित ऋण असुली रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँहरूले कानुनी प्रक्रिया संस्थाको बाध्यात्मक औपचारिकता मात्र भएको उल्लेख गर्दै नियमित किस्ता र ब्याज भुक्तानीले सदस्य तथा व्यवसायी दुवैलाई सहज हुने धारणा राख्नुभयो।

कार्यक्रममा कोषाध्यक्ष इन्द्रराज अर्यालले संस्थाको कुल सम्पत्ति करिब एक अर्ब रुपैयाँ रहेको जानकारी दिनुभयो। सञ्चालक बुद्धिबहादुर कुँवरका अनुसार संस्थामा हाल १ हजार २ सय ५२ शेयर सदस्य आबद्ध रहेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected