19Shares

पोखरा। पोखरा–१, मिरुवास्थित मुख्य कार्यालयबाट सेवा दिँदै आएको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अन्नपूर्ण गाउँपालिका कास्कीकी उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी उपस्थित थिइन्।

अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले बजारको संवेदनशीलता, शेयर सदस्यको हित र राज्यका नीतिअनुरूप जोखिम न्यूनीकरणलाई प्राथमिकता दिएको बताए। उनका अनुसार सहकारी समुदायमा आधारित भएकाले विषम आर्थिक परिस्थितिमा समेत संस्थाको वित्तीय अवस्था सुदृढ रहन सफल भएको छ।हाल सहकारीमा १,६७१ जना शेयर सदस्य आवद्ध छन् र मुख्य कार्यालयसहित एक शाखामार्फत वित्तीय सेवा प्रदान गरिँदै आएको छ। पौडेलले संस्थालाई कानुनी परिपालना र संस्थागत सुशासनका आधारमा दिगो र स्वस्थ सहकारीको नमूना बनाउने लक्ष्य रहेको बताए। उनले सदस्यहरूलाई बचतसँगै उद्यमशील ऋण लिन पनि आग्रह गर्दै सहकारीको मजबुतिकरणका लागि सदस्य, सञ्चालक र कर्मचारी सबैको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।

सचिव बाबुराम भण्डारी ले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार २०६८ सालमा स्थापना भएको सहकारीले सदस्यको आर्थिक तथा सामाजिक रूपान्तरणमा निरन्तर काम गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ सम्ममा सहकारीले अनुत्पादक खर्च घटाउँदै खराब कर्जा न्यूनीकरणमा जोड दिएको उनले जानकारी दिए। गत वर्ष सहकारीले सहकारी अवलोकन भ्रमण, कानुनी साक्षरता, सहकारी शिक्षा तथा क्षमता विकास कार्यक्रम जस्ता गतिविधि सञ्चालन गरेको थियो। आगामी वर्षमा सहकारीले प्रविधिमैत्री सेवा विस्तार, ऋणी सदस्यका लागि ऋण सदुपयोग साक्षरता, वित्तीय साक्षरता, सदस्य सम्मान तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

                                             

कोषाध्यक्ष सरिता सुवेदी भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सहकारीको शेयर पुँजी ३ करोड ६० लाख २४ हजार, बचत संकलन ७ करोड ८६ लाख ६९ हजार ७०२ र ऋण लगानी ८ करोड ९३ लाख ६८ हजार ७९१ पुगेको छ।

लेखा सुपरिवेक्षण समितिका संयोजक जनकराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै कर्जा लगानी गर्दा एउटै परिवारका एक जनालाई मात्र ऋण दिन, भाखा नाघेका ऋण असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाउन र लेखा समितिको सुझाव पालना गर्न सिफारिस गरे।

प्रमुख अतिथि चन्द्रकला देवकोटा अधिकारीले सहकारीहरू ऐन–नियम अनुसार नचले समस्या देखिने भएकाले सबै सरोकारवाला सचेत हुनुपर्ने बताइन्।

सहकारी अभियन्ता एवं पूर्व जिबिस अध्यक्ष पुन्यप्रसाद पौडेलले शेयर सदस्यलाई उद्यमशीलतासँग जोड्न र निष्क्रिय सदस्यलाई सक्रिय बनाउन आग्रह गरे।

अन्नपूर्ण गाउँपालिकाका संस्थापक अध्यक्ष युवराज कुँवरले सहकारी प्रविधिसँग जोडिएर डिजिटल कारोबार सुरु गरेको प्रशंसा गर्दै यसको निरन्तर प्रगतिका लागि शुभकामना दिए।

ढिकुरपोखरी समाज पोखराकी अध्यक्ष तथा सहसचिव लक्ष्मी अधिकारीले समाजको अग्रसरतामा सहकारी स्थापना भएको स्मरण गर्दै सदस्यलाई निश्चिन्त भएर कारोबार गर्न आग्रह गरिन्।

संस्थापक अध्यक्ष रामचन्द्र पौडेल,  सल्लाहकार लालबहादुर कुँवर र पूर्व सल्लाहकार टंकराज अधिकारीले सहकारीले चुनौतीपूर्ण अवस्थामासमेत सदस्यको मनोबल उच्च राखी सेवा निरन्तरता दिएको भन्दै प्रशंसा गरे।                                                                 

सभामा सहकारीले ज्येष्ठ शेयर सदस्य रामचन्द्र पौडेल, मुक्तीराम पौडेल र धनपति अधिकारीलाई सम्मान गर्‍यो। त्यस्तै, असलबचतकर्ता बिष्णुप्रसाद अधिकारी र रमा केसी, असल निक्षेपकर्ता रुपेश पौडेल र लक्ष्मी अधिकारी, असल दैनिक बचतकर्ता खेमराज अधिकारी र यमुना भण्डारी अधिकारीलाई पनि सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट कर्मचारी का रूपमा प्रमिला पौडेल देवकोटा र चित्राकुमारी शर्मालाई सम्मान गरिएको छ।

कार्यक्रममा उपाध्यक्ष मनपति अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यसमितिका सदस्य नवराज अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । सचिव बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका व्यवस्थापक अनिल अधिकारीले कार्यालय संचालनका बिषयमा आफ्ना भनाइ राखेका थिए।  शेयर सदस्य कृष्णप्रसाद पौडेल र मिना गिरीले पनि मन्तव्य राखेका थिए।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected