उज्वल सहकारीको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, नरेन्द्र बास्तोला पुनः अध्यक्षमा निर्वाचित
- January 15, 2026
- 297

पोखरा । उज्वल बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ।
अधिवेशनबाट आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा नरेन्द्र बास्तोला पुनः निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मा चयन हुनुभएको छ।
यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरूमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित हुनुभएको छ। सञ्चालक समिति र लेखा समितिका सबै पदमा सर्वसम्मत निर्वाचन भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिनुभयो।
साधारण सभाको अवसरमा प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी एवं संस्थाका जेष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले सहकारी अभियानमा आफूले लामो समय बिताएको उल्लेख गर्दै केही छट्टु व्यक्तिहरूका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले ऋण प्रवाह गर्दा पर्याप्त विचार नपुर्याउँदा समस्या देखिएको भन्दै विश्वासको भरमा मात्र ऋण दिने प्रवृत्तिले सहकारीमा जोखिम बढाएको बताउनुभयो।
संस्थाका सल्लाहकार तथा पत्रकार नारायण कार्कीले तीनखम्बे अर्थनीतिको अवधारणामाथि प्रकाश पार्दै सहकारीहरू सहकारीका सात सिद्धान्तभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
पुनः निर्वाचित भएपछि अध्यक्ष नरेन्द्र बास्तोलाले उज्वल सहकारीलाई अझ सुरक्षित, पारदर्शी, प्रविधिमैत्री तथा सदस्यमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको बचतको पूर्ण सुरक्षा, मर्यादित कर्जा प्रणाली, डिजिटल सेवाको विस्तार, युवामैत्री कार्यक्रम र संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो।
कार्यक्रममा सहकारी विज्ञ धर्मराज अर्याल, सहकारीका साधारण सदस्य तथा पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक इन्द्रप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सञ्चालक समिति सदस्य विमला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अर्का सदस्य पुजनराज भण्डारीले सहकारीका सात सिद्धान्तमाथि प्रकाश पार्नुभएको थियो। संस्थाका अध्यक्ष नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र बास्तोलाले गर्नुभएको थियो।
साधारण सभाले संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति समेटिएका वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै आगामी कार्यदिशा निर्धारण गरेको छ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता हिमलाल शर्मा तिमिल्सिना र उषा काफ्ले, उत्कृष्ट कारोबार गर्ने आईती श्री थापा र लक्ष्मी कोइराला, हालै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित संस्थाका सचिव सुरेन्द्र बास्तोला तथा कर्मचारीहरू पुस्पराज बास्तोला र निर्मला सापकोटालाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थापक अग्रजहरू, पूर्व अध्यक्षहरू, शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






सम्बन्धित खवर
















