
चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। नारायणगढस्थित डिष्ट्रिक्ट सचिवालयमा शनिबार आयोजित पदस्थापन समारोहमा लायन्स वर्ष २०२६/२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले पदभार ग्रहण गरेका हुन्।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए। पण्डितले जुलाई ३ देखि ७ सम्म हङकङमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनमा शपथ ग्रहण गरेपछि नेपालमा औपचारिक रूपमा कार्यकाल सुरु गरेका हुन्।
यससँगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतीवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी पूर्णप्रसाद शर्मा तथा डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर कृष्ण पाण्डेले पनि पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि उपस्थित सबैलाई धन्यवाद दिँदै डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले यस वर्षको डिष्ट्रिक्ट थीम “Service First, Mark Forever” अर्थात् “पहिले सेवा गरौँ, अमिट छाप छोडौँ” रहेको जानकारी दिए। उनका अनुसार उक्त थीमले सेवा नै संगठनको पहिलो प्राथमिकता हुनुपर्ने र सेवामार्फत समाजमा दीर्घकालीन सकारात्मक प्रभाव छोड्न सकिने सन्देश प्रवाह गर्छ।
गभर्नर पण्डितले लायन्सको मूल मन्त्र “We Serve” केवल नारामा सीमित नरही व्यवहारमा उतारिनुपर्नेमा जोड दिए। उनले सेवा, अनुशासन र समर्पण नै संगठनको वास्तविक शक्ति भएको उल्लेख गर्दै समुदायले प्रत्यक्ष अनुभूति गर्ने खालका सेवामूलक कार्यक्रममा सक्रिय रूपमा जुट्न सबै सदस्यलाई आग्रह गरे।
उनले भने, “हामी केवल पदका लागि नेतृत्व गर्ने होइनौं, आशा बाँड्ने, विश्वास जगाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानका प्रतिनिधि हौं। सेवा हाम्रो पहिलो प्राथमिकता बन्नुपर्छ, ताकि हाम्रो कामले समाजमा अमिट छाप छोड्न सकोस्।”
गभर्नर पण्डितले आफ्नो कार्यकालमा सदस्यता विस्तार, युवा नेतृत्व विकास, महिला तथा बालबालिकाको सशक्तीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार, वातावरण संरक्षण तथा समुदायसँगको सहकार्यलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिए। उनका अनुसार लायन्स अभियानलाई अझ जनविश्वासयुक्त, प्रभावकारी र गाउँ–बस्ती केन्द्रित बनाइनेछ। साथै, डिष्ट्रिक्टका सबै कार्यक्रमलाई योजनाबद्ध, परिणाममुखी र अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उनले सेवामूलक अभियानलाई थप प्रभावकारी, पारदर्शी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, आँखा उपचार तथा युवा नेतृत्व विकासका क्षेत्रमा लायन्सको भूमिका अझ सशक्त बनाइने बताए।
समारोहमा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने, रामप्रसाद भट्ट, राजकुमार श्रेष्ठ तथा प्रभातकुमार जोशीको उपस्थिति रहेको थियो। उनीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको सेवामूलक अभियानलाई अझ प्रभावकारी, उत्तरदायी र समाजमुखी बनाउन आग्रह गरेका थिए।
विश्वकै ठूलो स्वयंसेवी सेवामूलक संस्थामध्ये एक लायन्स क्लबले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, आँखा उपचार, युवा नेतृत्व विकास तथा विभिन्न मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।
डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी पूर्णप्रसाद शर्माका अनुसार नयाँ नेतृत्वले सेवा, समर्पण र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी कार्यकालमा समुदायको आवश्यकता केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
















