0Shares

पोखरा । नेपाल परिवार नियोजन संघ, पोखरा शाखाको शनिबार सम्पन्न ४५औँ वार्षिक शाखा सभाले नविन सिग्देललाई पुनः सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ।

त्यसैगरी, कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा. लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका–१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा युवामैत्री स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि स्थानीय सरकार र संघबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव अर्जुन सिग्देल, पूर्व केन्द्रीय सदस्य किशोरदत्त बराल, आजीवन सदस्य चन्द्रकृष्ण कर्मचार्य, सम्झना थापा र शंकर ज्ञावलीले शाखाले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा सेवा विस्तार, संस्थागत सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।

नवनिर्वाचित सभापति नविन सिग्देलले आफूलाई पुनः विश्वास गरी जिम्मेवारी दिने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा लैङ्गिक समानताका क्षेत्रमा समुदायसँग समन्वय गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरी शाखालाई अझ सक्रिय र सशक्त बनाउने बताए।

कार्यक्रमका अवसरमा शाखामा लामो समयदेखि सेवा गर्दै आएका क्लिनिक सहायक सुरज चौधरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो।

शाखाका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले आर्थिक वर्षभरि सञ्चालन भएका कार्यक्रम, संस्थागत गतिविधि तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विशेषज्ञ सदस्य वीरेन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विष्णु प्रसाद दाहाल ‘आभाष’ले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected