0Shares

कास्की, साउन १० मोदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँपुलका व्यवस्थापक पार्वती सुवेदी पौडेलको ४३ वर्षको उमेरमा निधन भएको छ। मुटुसम्बन्धी समस्याको उपचारका क्रममा काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शनिबार साँझ करिब ५ बजे उनको निधन भएको उनकी बहिनी मेलिना सुवेदीले जानकारी दिएकी छन्।

पार्वती सुवेदी पौडेल अन्नपूर्ण गाउँपालिका–५, नयाँपुलस्थित मोदी बचत तथा ऋण सहकारी संस्थामा लामो समयदेखि व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रको विकास, सदस्यहरूको सेवा तथा संस्थाको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी थिइन्।

अन्नपूर्ण गाउँपालिका–३ (साविक ढिकुरपोखरी गाविस–७, रयाले) निवासी धर्मदत्त सुवेदी र मीना सुवेदीकी ज्येष्ठ सन्तानका रूपमा जन्मिएकी पार्वतीले अन्नपूर्ण गाउँपालिका–५, झोवाङ निवासी राजेन्द्र पौडेलसँग वैवाहिक जीवन बिताएकी थिइन्। उनका श्रीमान् राजेन्द्र पौडेल तथा दुई छोरी अंकिताअंशु पौडेल छन्।

उनको पार्थिव शरीरको आइतबार स्थानीय मोदी खोलामा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल, वडा नं. ६ का अध्यक्ष एकदेव देवकोटा, विभिन्न जनप्रतिनिधि, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारीकर्मी, आफन्त र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तिम विदाइमा श्रद्धाञ्जली अर्पण गर्न पुगेकाहरूको भीडले मानवसागरको झल्को दिएको थियो।

अन्तिम संस्कारमा सहभागीहरूले पार्वतीलाई सरल, विनम्र, ममतामयी, निस्वार्थ र निष्कलङ्क व्यक्तित्वका रूपमा स्मरण गरे। सबैसँग आत्मीय व्यवहार गर्ने, अरूको दुःख–सुखमा साथ दिने, सहयोगी भावना राख्ने र आफ्नोपनले सबैको मन जित्ने उनको स्वभाव नै उनको सबैभन्दा ठूलो परिचय रहेको उनीहरूको भनाइ थियो।

पार्वती सुवेदी पौडेलको असामयिक निधनले परिवारमात्र होइन, सहकारी क्षेत्र, स्थानीय समुदाय र उनलाई चिन्ने सबैलाई गहिरो शोकमा डुबाएको छ। उनको समर्पण, सेवा भावना र सदाचारपूर्ण जीवन सधैं प्रेरणाको स्रोतका रूपमा स्मरणीय रहनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected