0Shares

पोखरा। महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनलाई केन्द्रमा राख्दै लायन्स क्लब अफ पोखरा बाराही टाउनले आयोजना गरेको तीन दिने हस्तकला तालिम सम्पन्न गरेको छ। सिमलटुडा टोल विकास संस्थासँगको सहकार्यमा सञ्चालन भएको तालिममा १८ जना महिलाले व्यवहारिक हस्तकलासम्बन्धी सीप हासिल गरेका छन्।

क्लबका अध्यक्ष लक्ष्मी ठकुरीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले क्लबले निरन्तर सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उनले महिलाले परिवारमा मात्र सीमित नभई आफ्नै सीप र क्षमताका आधारमा आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै सिमलटुडामा आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्। स्थानीय निकाय र टोल विकास संस्थासँग सहकार्य गर्दै महिलालाई स्वरोजगारसँग जोड्ने अभियानलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो।

क्लबका संस्थापक अध्यक्ष रोजी श्रेष्ठले लायन्स क्लबले समाज सेवासँगै सीप विकासलाई प्राथमिकतामा राख्दै आएको बताइन्। तीन दिने तालिममा कुसन, सजावटी गुडिया तथा मकैको खोस्टाबाट आकर्षक बुक्के फूल बनाउने सीप प्रदान गरिएको जानकारी दिँदै उनले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके महिलाको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

तालिमकी प्रशिक्षक तथा क्लबका कोषाध्यक्ष साबित्रा पराजुलीले सहभागीलाई सैद्धान्तिकभन्दा बढी व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिएकी थिइन्। उनले हस्तकलालाई सानो लगानीबाट सुरु गर्न सकिने आयआर्जनको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्दै आगामी दिनमा पनि विभिन्न लायन्स क्लब तथा सामाजिक संस्थाको आग्रहमा निःशुल्क यस्ता तालिम सञ्चालन गर्न आफू सदैव तयार रहेको बताइन्।

कार्यक्रममा सिमलटुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइलीले लायन्स क्लबले समुदायको आवश्यकतालाई बुझेर सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए। टोल विकासको भवनमा सम्पन्न तालिमबाट स्थानीय महिलाले प्रत्यक्ष लाभ लिएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा सीपमूलक कार्यक्रमका लागि टोल विकास संस्थाले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाए।

सहभागी महिलाले विगत करिब नौ वर्षपछि आफ्नो क्षेत्रमा यस्तो उपयोगी र व्यवहारिक तालिम प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूका अनुसार तालिमले नयाँ सीप मात्र नभई आत्मविश्वास र स्वरोजगारतर्फ अघि बढ्ने प्रेरणा पनि दिएको छ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनले सामाजिक सेवासँगै महिला सशक्तीकरण, सीप विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई निरन्तर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। क्लबले समुदायमा परिवर्तन ल्याउने यस्ता अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउँदै महिलालाई उत्पादन, उद्यम र सम्मानजनक आम्दानीसँग जोड्ने योजनालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको क्लबका सचिब लक्ष्मी देबि शर्माले बताईन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected